शिब बहादुर बुढाथोकी
दोलखा ७ साउन-वर्षा शुरु भएदेखि दोलखा जिल्लाको पर्यटकिय महत्व बोकेको शैलुङ गाउँपालिका जाने मुडे-मेलुङ सडक खण्ड हिलाम्मे बनेको छ। गाउँपालिका देखि विभिन्न गाउँ जाने सडकको अवस्था अहिले बिजोग छ । ग्रामीण क्षेत्रका कच्ची सडक, त्यसमाथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण बनेको छ ।
वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै ठुला ठुला खाल्टाखुल्टीले हिलाम्मे बाटो भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ।भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यातायातका साधन सञ्चालन गर्नुपर्ने र यात्रुहरुलाई पैदल नै यात्रा गर्नुपर्र्ने वाध्यता रहेको छ ।
सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ । यात्राको करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु । अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई धकेलेरै भएपनि गन्तव्यसम्म पुरयाउँछन् ।

जोखिम मौल्दै डोजरलाई तान्न लगाएर भएपनि गन्तव्यतर्फ पुग्नुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् । गन्तव्यमा पुग्नलाई धेरै साल भयो बिग्रिएको बाटो सम्याउँदै, कहिले गाडी धकाल्दै पुग्नुपर्ने बाध्यता रहेको यात्रुहरुको भनाइ छ ।
न सवारी साधन चल्छ न मान्छे नै हिड्न सकिन्छ । अरु समयमा तीन÷चार घण्टामा पुग्न सकिने बाटोमा दिनभरीको कष्टकर यात्रा गर्नुपरेको यात्रुहरुको भनाइ छ ।
शैलुङ र गाउँपालिका भित्र जाने बाटोको कारण यहाँको सवारी यात्रा जोखिम पूर्ण हुने गरेको छ । हिलाम्मे सडकमा यात्रुहरुले ठुलै जोखिम मोलेर यात्रा गर्नु परिरहेको शैलुङ गापा – १ का लोकेन्द्र कार्कीले बताए। उनले भने, “यात्रा गर्दा निकै जोखिम मोल्नु परेको छ, ठुल्ठुला दुर्घटना अरनिको राजमार्गमा भईसकेका छन्, भगवानको नाम लिदै यात्रा गर्न बाध्य छौ ।”
हिलाम्मे तथा बिग्रेकै सडकमा यात्रा गर्दा अकालमै ज्यान जान सक्छ भन्दै उक्त सडकको स्तरोन्नती नभएको भन्दै स्थानियवासी सामाजिक संजाल मार्फत आक्रोशित हुन थालेका छन् । दर्जनभन्दा बढी ग्रामीण सडक जोखिम पूर्ण भएका छन् । वर्षातका कारण हिलाम्मे भएपछि अधिकांश ग्रामीण सडक अवरुद्ध छन् ।
एउटै स्थानीय तहको मुकाम पुग्न पनि आधा दर्जन सडक निर्माण भएका छन् । स्थानीय तहका गाउँ गाउँमा सडक पु¥याइएका छन । तर वर्षातमा भने मुस्किलले एउटा सडक मात्र स्थानीय तहको सम्म पुग्ने गरी सञ्चालनमा छन् । त्यो पनि जोखिम यात्रा गर्नु पर्ने छ ।
अहिले निर्माण गरिएका अधिकांश ग्रामीण सडक मापदण्ड विपरित निर्माण भएका छन् । यस कारण पनि वर्षासंगै बिग्रने गरेका छन् । ग्रामीण सडकमा पर्याप्त यातायातका साधन सञ्चालन नहुँदा यहाँ उत्पादन हुने फलफूल तथा तरकारी र अन्य कृषिजन्य वस्तु पनि बजारसम्म ल्याउन नसक्दा किसान मार्कामा छन् । बजारसम्म लैजाने साधन नहुँदा किसानले फलाएका साग तरकारी बारीमै कुहिन थालेका छन् ।
खराब सडकका कारण गाडी सञ्चालकले यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेका छन् । स्थानीय तहजिल्ला सदरमुकामसम्म यात्रा गर्दा अवस्था हेरेर रु एक हजार देखि पन्ध्रसय सम्म भाडा तिर्नु परेको स्थानीयवासीको गुनासो छ ।
