
माघ,१६ काठमाडौं । आज शहीद दिवस न्यायपूर्ण आन्दोलनमा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शुक्रबार लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि शहीदहरुप्रति सम्मान अर्पण गर्न लैनचौर पुगनु भएको थियो|

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, प्रधान सेनापति पुर्ण चन्द्र थापा , प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, सर्वसाधारणहरुको सहभागिता थियो । रत्नपार्क शान्तिवाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म पुगी कार्यक्रममा नेपाली सेनाको टुकडीले शहीदप्रति सलामी चढाएको थियो ।

राणाशासनविरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरुको स्मरणमा शहीद दिवस मनाउने गरिएको छ ।

राणाशासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीस्थित खरीबोट, र धर्मभक्त माथेमालाई सिफल तथा माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए चार शहीदको सम्झनामा काठमाडौं महानगरपालिकाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ ।
