प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा
प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा

माघ, १२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गर्नु भएको छ ।
पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै श्री पशुपतिनाथको मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गर्नु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले अनलाइनखबरसँग कुरागर्दै भने, ‘मन्दिरभित्र संकल्पसहित गर्ने पूजा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको बताउनु भएको छ ।
पशुपति मन्दिर क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक घण्टा बिताउनु भएको थिए । सो अवसरमा कोषका सदस्य सचिव डा. ढकालले पशुपति क्षेत्रमा भएका, हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी गराउनु भएका थियो ।
सदस्यसचिव ढकालले भने, ‘पुनर्निर्माण लगायत यहाँका समसामयिक केही विषयहरुमा मैले जानकारी गराएँ, प्रधानमन्त्रीज्यूबाट स्वाभाविक रुपमा चासो व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपति क्षेत्रमा भएका विकासबारे जानकारी लिन प्रधानमन्त्री ओली पशुपति गएको बताउनु भयो ।
पशुपति मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री ओली आजै दाङ देउखुरी जाने कार्यक्रम छ । राप्ती नदीमा बनेको पुल उदघाटन र जनसभालाई सम्बोधन गर्न ओली दाङ जाने र आजै काठमाडौं फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।