काठमाण्डाै – अर्थमन्त्री विष्णु पौडेलले नेपाली जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउनु भयो ।
शनिबार ललितपुरमा चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले देश प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गर्नुभएको हो । देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता नै हुने भन्दै उहाँले जनता सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको समेत बताउनु भएको छ।
नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको उहाँको भनाइ छ। याे विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेकोले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि सबैलाई मन्त्री पौडेलले बताउनु भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्ने समेत जोड दिनु भयो । निर्वाचनले देशलाई राजनीतिक स्थायित्व दिने उहाँको भनाई छ
मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्दको भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको पनि जानकारी दिनुभयो ।
