काठमाडौं
शरीरका लागि अत्यावश्यक तत्वमध्ये पानी प्रमुख मानिन्छ। पानीले खनिज, भिटामिन, एमिनो एसिड तथा ग्लुकोजको अवशोषणमा सहयोग गर्नुका साथै शरीरभित्रका विषाक्त पदार्थ र फोहोर तत्व बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेल्छ। तर, प्यास नलाग्दै जबरजस्ती पानी पिउने बानीले भने फाइदाभन्दा बेफाइदा हुन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।
स्वास्थ्य विशेषज्ञका अनुसार शरीरलाई पानीको आवश्यकता हुँदा प्यासको संकेत देखा पर्छ। यस्तो अवस्थामा पानी पिउनु उपयुक्त हुन्छ। तर, बिना आवश्यकता अत्यधिक पानी पिउँदा शरीरले त्यसको अतिरिक्त लाभ लिन सक्दैन, बरु समस्या निम्त्याउन सक्छ। गर्मी मौसममा सामान्यतया दैनिक २–३ लिटर पानी पिउनु पर्याप्त मानिन्छ।

कम पानी पिउँदा डिहाइड्रेसन मात्र होइन, किड्नी स्टोन (मिर्गौलाको पत्थरी) हुने जोखिम पनि बढ्न सक्छ। यस्तो समस्या भएका व्यक्तिहरूले भने दिनभरि करिब ३ लिटर पानी पिउनु उपयुक्त हुन्छ, जसले पत्थरी पिसाबमार्फत बाहिर निस्कन सहयोग पुर्याउन सक्छ। तर, यस्तो अवस्थामा पनि एकैपटक धेरै पानी पिउनुभन्दा थोरै–थोरै गरेर पिउन सल्लाह दिइन्छ।
पर्याप्त पानी पिउनुका फाइदाहरू पनि उल्लेखनीय छन्। यसले शरीरलाई ताजा र सक्रिय राख्न मद्दत गर्छ, मस्तिष्कको कार्यक्षमता सन्तुलित राख्छ, टाउको दुखाइ कम गर्न सहयोग पुर्याउँछ र पाचन प्रणाली सुधार गरी कब्जियत जस्ता समस्या कम गर्न उपयोगी हुन्छ।
त्यसैले, पानी पर्याप्त मात्रामा पिउनु आवश्यक भए पनि प्यासको संकेतलाई बेवास्ता गर्दै जबरजस्ती धेरै पानी पिउने बानीबाट बच्नुपर्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ।
