दोलखा । बैशाख ६
समुद्री सतहबाट करिब ३,१४८ मिटर उचाइमा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र शैलुङमा सरसफाइ अभियान सम्पन्न गरिएको छ। अभियानमार्फत स्वच्छता प्रवर्द्धन र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
धर्मराज मुडुला कार्की सेवा समाजको आयोजनामा सञ्चालन भएको उक्त अभियानमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।
अभियानका क्रममा शैलुङ क्षेत्रमा फोहोर संकलन गर्नुका साथै वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि गरिएको थियो। धार्मिक तथा पर्यटकीय महत्व बोकेको यस क्षेत्रलाई स्वच्छ र व्यवस्थित राख्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।
कार्यक्रममार्फत “सबैले आफ्नो ठाउँबाट सकारात्मक परिवर्तनको सुरुवात गरौँ” भन्ने सन्देश दिइएको छ। साथै, अभियानलाई सफल बनाउन दिनरात खटिएका धर्मराज मुडुला कार्की सेवा समाजका कार्यसमिति सदस्य तथा वंशजहरूप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।
यस अभियानले शैलुङ क्षेत्रको दीगो संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
