काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामालाई लिएर पार्टीभित्र चर्चा भइरहेका बेला नेता मनिष मिश्रले त्यसलाई “उच्चतम् राजनीतिक नैतिकता” को उदाहरणका रूपमा व्याख्या गरेका छन्।
नेता मिश्रले सभापति थापाको निर्णयको प्रशंसा गर्दै निर्वाचनको विषम परिस्थितिका बीच गरिएको नेतृत्वलाई सकारात्मक रूपमा मूल्यांकन गर्नुपर्ने बताएका छन्। उनले भने, “गगनजी सभापति भएपछि चुनावी तयारीका लागि पर्याप्त समय थिएन, परिस्थिति पनि चुनौतीपूर्ण थियो। त्यसबीच पनि उहाँले सभालाई सम्बोधन गर्नेदेखि चुनावी गतिविधिमा देखाएको सक्रियता प्रशंसनीय छ।”
उनका अनुसार प्राप्त निर्वाचन परिणाम पनि त्यही विषम परिस्थितिको उपज भएको उल्लेख गर्दै गगन थापा, विश्वप्रकाश शर्मा लगायतको टोलीले अपेक्षाभन्दा राम्रो प्रयास गरेको दाबी गरेका छन्।
मिश्रले सभापति थापाले राजीनामा दिनुपर्ने बाध्यता नरहेको स्पष्ट पार्दै पार्टीभित्र अझ मजबुत भएर काम गर्नुपर्ने धारणा राखे। “साथीहरूले राजीनामा नदिन आग्रह गर्दा पनि उहाँ आफ्नो सिद्धान्तविपरीत जान सक्नु भएन भन्ने देखिन्छ,” उनले भने।
उनले केन्द्रीय समितिले उक्त राजीनामा अनुमोदन नगर्नु उपयुक्त हुने धारणा राख्दै वर्तमान अवस्थामा गगन थापाको नेतृत्व कांग्रेसका लागि अपरिहार्य रहेको बताए। “गगनजी बिना कांग्रेसको परिकल्पना गर्नु अहिलेको अवस्थामा पार्टीका लागि ठूलो क्षति हुन सक्छ,” उनले उल्लेख गरे।
मिश्रले आगामी दिनमा नेपाली कांग्रेसले स्पष्ट धारका साथ सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनपक्षीय कार्यमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
