काठमाडौं ।
चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) ले कृषि आधुनिकीकरण, रोजगारी विस्तार र ग्रामीण पुनर्जागरणलाई एकीकृत रणनीतिका रूपमा अघि सारेको निष्कर्षसहित
“China’s Opening-Up & Opportunities for Nepal: The Interpretation of China’s 15th Five-Year Plan”
विषयक अन्तरक्रियात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
बत्तीसपुतलीस्थित तपस होटल मा आयोजित उक्त कार्यक्रममा चीनको विकास मोडेल, खुलापन नीति तथा त्यसबाट नेपालले लिन सक्ने आर्थिक, कृषि र रोजगारीसम्बन्धी अवसरहरू माथि गहिरो छलफल गरिएको थियो।
कार्यपत्र प्रस्तुत गर्दै अध्येता रोयल आचार्य ले चीनको आर्थिक उदारीकरण नीति, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनाका अभ्यासबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा विस्तृत प्रस्तुति दिएका थिए।
कार्यक्रम Friends on the Cloud – Platform of Influencers, Nepal द्वारा आयोजना गरिएको हो।
१५औँ पञ्चवर्षीय योजनाका मुख्य विशेषता
कार्यक्रममा प्रस्तुत १७ पृष्ठ लामो कार्यपत्र तथा छलफल अनुसार चीनको १५औँ पञ्चवर्षीय योजना आर्थिक विकास, कृषि सुधार र रोजगारी स्थायित्वलाई एउटै रणनीतिक ढाँचामा अघि बढाउने दीर्घकालीन योजना भएको उल्लेख गरियो।
यो योजना सन् २०२५ अक्टोबर २३ मा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट पारित भएको हो।
योजनाले सन् २०३५ सम्म समाजवादी आधुनिकीकरण हासिल गर्ने लक्ष्य, प्रतिव्यक्ति आयलाई मध्यम विकसित राष्ट्रको स्तरमा पुर्याउने दृष्टि तथा स्मार्ट र प्रविधियुक्त कृषि विकास लाई प्राथमिकता दिएको बताइयो।
स्मार्ट कृषि र प्रविधि
कार्यपत्रमा चीनले अपनाएको उच्च प्रविधियुक्त कृषि विकास मोडेल प्रस्तुत गरिएको थियो।
यसअन्तर्गत:
पहाडी र हिमाली भेग अनुकूल स्मार्ट कृषि यन्त्र र आधुनिक मेशिनरी
बीउ, डिजिटल कृषि र प्रिसिजन फार्मिङमा अनुसन्धान
ड्रोन, इन्टरनेट अफ थिङ्स (IoT) र कृत्रिम बौद्धिकता (AI) को प्रयोग
जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यापार जोखिमप्रति सहनशील कृषि प्रणाली
यी पहलले चीनलाई स्मार्ट, हरित र जोखिम-सहनशील कृषि अर्थतन्त्र तर्फ लैजाने लक्ष्य लिएको उल्लेख गरियो।
ग्रामीण पुनर्जागरण र जीवनस्तर सुधार
१५औँ योजनाले उत्पादनसँगै ग्रामीण जीवनस्तर सुधार लाई पनि प्रमुख प्राथमिकता बनाएको बताइयो।
सडक, खानेपानी, बिजुली, सञ्चारजस्ता पूर्वाधार विस्तार, सरसफाइ, फोहोर व्यवस्थापन, आवासीय वातावरण सुधार, कृषि–प्रशोधन–सेवा क्षेत्र जोड्ने ग्रामीण उद्योग, कृषि पर्यटन तथा वनआधारित गैरकाठ उद्योग प्रवर्द्धन जस्ता अभ्यास नेपालका ग्रामीण क्षेत्रका लागि पनि महत्वपूर्ण सिकाइ हुन सक्ने वक्ताहरूको निष्कर्ष थियो।
किसान आय, खाद्य सुरक्षा र रोजगारी
योजनाले किसानको आम्दानी सुनिश्चित गर्न मूल्य समर्थन, अनुदान, कृषि बीमा, अन्न खरिद तथा भण्डारण प्रणाली सुदृढ गर्ने नीति अघि सारेको जानकारी दिइयो।
त्यसैगरी रोजगारीलाई सामाजिक स्थायित्वको आधार मान्दै स्नातक, वैदेशिक रोजगारीबाट फर्किएका तथा पूर्वसैनिक लक्षित रोजगारी, आजीवन सीप तालिम प्रणाली, न्यूनतम ज्याला र श्रम विवाद समाधान संयन्त्रलाई प्राथमिकता दिएको बताइयो।
सहभागीहरू
कार्यक्रममा गण्डकी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघु काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यपत्रमाथि डा. मृचि रिजाल (वरिष्ठ रिसर्च कन्सल्टेन्ट, नीति अनुसन्धान प्रतिष्ठान, नेपाल) लगायतले विश्लेषणात्मक टिप्पणी गरेका थिए।
कार्यक्रमको अध्यक्षता Friends on the Cloud – Platform of Influencers, Nepal का अध्यक्ष तथा वरिष्ठ समाजसेवी सोभित उप्रेती ले गरेका थिए।
