काठमाडौं — “गीत, संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ चौथो काव्य म्युजिक अवार्ड २०८२ भदौ २३ गते नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा वरिष्ठ अभिनेता कृष्ण मल्ल प्रमुख अतिथि थिए भने दक्षिणकाली अफसेट प्रेसका अध्यक्ष टपेन्द्र केसीको सभापतित्व रहेको थियो। कार्यक्रमको संयोजन रमेश श्रेष्ठले गरेका थिए।
कार्यक्रममा लोकप्रिय मोडल बिजेन्द्र नौबागेलाई ‘वर्षको सर्वोत्तम आधुनिक गीत म्युजिक भिडियो मोडल अवार्ड २०८२’ प्रदान गरिएको थियो।
बिजेन्द्र नौबागे विगत २०६३/६४ सालदेखि नेपाली गीत-संगीतको क्षेत्रमा निरन्तर सक्रिय छन्। थुप्रै लोकप्रिय आधुनिक गीतका म्युजिक भिडियोहरूमा अभिनय गर्दै उनले दर्शक तथा स्रोतालाई मोहनी लगाउँदै आएका छन्। उनको अभिनयको गहिरो अभिव्यक्ति, संगीतसँगको आत्मीयता र निरन्तरता नेपाली सांगीतिक क्षेत्रको लागि प्रेरणादायी बन्न पुगेको छ।
उनको यही योगदानको कदर स्वरूप आयोजक संस्था काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसले उनलाई सम्मानित गरेको हो।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका स्रष्टा, सर्जक, समाजसेवी र कलाकारहरूलाई पनि सम्मानपत्र र अवार्ड प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन दिपेन्द्र शाहीले गरेका थिए भने अन्त्यमा रमेश श्रेष्ठले समापन मन्तव्य दिएर कार्यक्रम सम्पन्न गरिएको थियो।
