अर्जुन राज गिरी
बागलुङ १८ चैत- बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ उनीहरुलाई दर्लिङ निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले अनलाइन खबरलाई जानकारी दिनु भएको छ ।
उनकाअनुसार पक्राउ पर्ने क्रम जारी रहेकाले पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गर्ने तयारी गरिएको छ । ‘अहिलेसम्म हेर्दा हाम्रो अनुसन्धान दोषी नजिक पुगेको छ’ ‘आज अथवा भोलिसम्म अभियुक्तहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गछौं ’ उनले भने । घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरीसहित बागलुङका एसपी कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
बागलुङ, गुल्मी र प्युठानको सिमाना बल्देघुरीमा आइतबार होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको हत्या भएको थियो । होली खेल्न क्रममा युवतीलाई जबरजस्ती होली लगाइदिँदा दुई समूहबीच झडप भएको थियो । झडप हुँदा निसीखोला गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको हत्या भएको थियो । घटनाका घाइतेहरुको पाल्पा र बागलुङमा उपचार भइरहेको छ।
झडपमा ज्यान गुमाएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको शव परिवारले बुझेका छन् ।अभियुक्त पक्राउ पर्ने क्रम जारी भएकाले परिवारले शव बुझेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । मृतक दुई जनाका मंगलबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टमको रिर्पोट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ
