मङ्सिर ९,मंगलबार / महोत्तरीमा १ जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो ।उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ ।
बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा राति १ बजेतिर शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ ।
प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जनाएको छ ।बालिकाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साह छन् । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार उनले हत्या गरेको स्वीकारेका छन् ।चकलेट किन्न गएकी बालिकालाई लुकाएर साहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बलात्कार गरेर हत्या गरेका हुन् कि होइनन् भन्ने कुराको अनुसन्धान भने भइरहेको छ ।
बालिकाको शव फेला परेपछि बर्दिवासका बासिन्दाले मंगलबार बिहानैदेखि विरोध प्रदर्शन थालेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गराउनुका साथै बजार पनि बन्द गराएका छन् ।
source-ok
