मकवानपुरको भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका स्थित देउराली नजिकै गुडिरहेको जिपलाई पहिरोले पुरेको छ।काठमाण्डौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको जिप पहिरोले पुरिँदा जिप चालकको मृत्यु भएको छ।
उनकोे सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भिमफेदी–कुलेखानी सडकको देउराली नजिक पहिरो खस्दा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल समेत पुरिएको छ । पहिरोले मोटरसाइकल पुरिँदा त्यसमा सवार दुबै जना सामन्य घाइते भएका छन् । उनीहरुको सकुशल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीले बताएको छ । सडकको माथिल्लो भागबाट चट्टान र माटो मिश्रित पहिरो गुडिरहेको जिपमाथि खसेको हो । जिपमाथि खसेको चट्टान र माटो मिश्रित पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय भिमफेदीले बताएको छ।
