भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले व्यक्तिको ज्ञान, सीप, अनुभव र क्षमतालाई जनताको हितमा उपयोग गर्नुपर्ने बताउनुभएको छ। उहाँले राजनीति गर्ने व्यक्तिले अरूको भनाइमा मात्र निर्भर नभई अध्ययन, अनुसन्धान र व्यावहारिक अनुभवका आधारमा समाजका समस्या बुझेर समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ।
भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा शुक्रबारदेखि सुरु भएको ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको शनिबार सम्पन्न समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले यस्तो धारणा राख्नुभएको हो।
‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ आयोजित दुईदिने सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति तथा समसामयिक सामाजिक र राजनीतिक विषयमा छलफल गरिएको थियो।
अध्यक्ष बिजुक्छेले राजनीतिक दलको सदस्य हुँदैमा मात्र व्यक्तिको क्षमता पुष्टि नहुने उल्लेख गर्दै उसको अध्ययन, ज्ञान, अनुभव, अनुसन्धान र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो। राजनीतिकर्मीले समाजका वास्तविक समस्या पहिचान गर्न र जनताको पक्षमा काम गर्न निरन्तर अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले साहित्य अध्ययनले विभिन्न देशका जनताको जीवनशैली, कला, संस्कृति, भूगोल र वातावरण बुझ्न सहयोग गर्ने बताउँदै स्वदेशी तथा विदेशी साहित्यको अध्ययनमा जोड दिनुभयो। नेपालभाषा, नेपाली वा अंग्रेजी जुनसुकै भाषा बोले पनि शुद्ध र शिष्ट रूपमा बोल्न सक्नु सभ्यताको परिचायक भएको उहाँले उल्लेख गर्नुभयो।
वैदेशिक रोजगारी र देशको अर्थतन्त्रबारे चिन्ता

सम्बोधनका क्रममा अध्यक्ष बिजुक्छेले नेपाली युवाको बढ्दो वैदेशिक रोजगारीप्रतिको आकर्षण र त्यसले परिवार तथा समाजमा पार्ने प्रभावबारे चिन्ता व्यक्त गर्नुभयो। उहाँले भौतिक वस्तु विदेशमा बिक्री गर्नु र देशका नागरिकलाई श्रमका लागि विदेश पठाउनु फरक विषय भएको उल्लेख गर्दै मानव संसाधनलाई वस्तुसरह हेर्न नहुने धारणा राख्नुभयो।
विदेशमा रहेका छोराछोरी आमाबुबा गम्भीर बिरामी पर्दा वा मृत्यु हुँदा समेत स्वदेश फर्कन नसक्ने अवस्था दुःखद भएको उहाँले बताउनुभयो। विदेशलाई सपनाको देशका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिबारे सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले देशभित्रै युवालाई योग्य, दक्ष र सक्षम बनाउने वातावरण आवश्यक रहेको बताउनुभयो।
उहाँले विगतमा सञ्चालनमा रहेका विभिन्न उद्योगको निजीकरण तथा बिक्री र देशको आर्थिक अवस्थाबारे पनि आलोचनात्मक धारणा राख्नुभयो। राजनीति भनेको देश र जनताको हितमा काम गर्नु, जनताका समस्याबारे छलफल गर्नु र जिम्मेवार नेतृत्व प्रदान गर्नु भएको उहाँको भनाइ थियो।
युवालाई खेलकुदमा सहभागी गराएर शारीरिक रूपमा स्वस्थ राख्न तथा विद्यालय तहदेखि नै प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
३५ वर्षको राजनीतिक अभ्यासमाथि प्रेम सुवालको टिप्पणी
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले देशको राजनीतिक दिशा र विगतका सरकारका कामकारबाहीबारे टिप्पणी गर्नुभयो। उहाँले विभिन्न सर्वेक्षणमा देश गलत दिशातर्फ गइरहेको धारणा व्यक्त गर्ने नागरिकको संख्या उल्लेख्य रहेको बताउँदै राष्ट्रिय हितविपरीतका गतिविधि रोक्न राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।
सुवालले भक्तपुरलाई ज्ञान र विज्ञानको केन्द्र बनाउने उद्देश्यसहित अघि सारिएको ‘एक घर, एक स्नातक’ अभियानको चर्चा गर्दै शिक्षा र जनचेतना अभिवृद्धिमा जोड दिनुभयो। उहाँले संविधान निर्माण, वैदेशिक लगानी, एमसीसी तथा राष्ट्रिय स्वाधीनतासम्बन्धी विषयमा आफ्नो पार्टीको धारणा प्रस्तुत गर्नुभएको थियो।
साहित्यकार तथा सामाजिक अगुवालाई सम्मान

सम्मेलनको दोस्रो दिन किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वांङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
साहित्यतर्फ कथा र कविता विधामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने सर्जकलाई पनि पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कविता विधामा शकुन्तला महर्जन प्रथम, हरिसुन्दर पोतामहाँ द्वितीय, शिल्भिया प्रजापति तृतीय र ओमकृष्ण श्रेष्ठ चौथो हुनुभयो। त्यसैगरी कथा विधामा कमलकेशरी थुयाजू प्रथम, सूर्यनारायण फाँजू द्वितीय, श्रीया पहिजू तृतीय र एलके सुन्दर चौथो हुनुभयो।
कार्यक्रममा इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, पत्रकार लक्ष्मणराज जोशीलगायत वक्ताहरूले भाषा, साहित्य, संस्कृति र समसामयिक विषयमा धारणा राख्नुभएको थियो।
भाषा र संस्कृतिको संरक्षणमा तःमुंज्याको योगदान

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएका थिए। नयाँ पुस्ताका सर्जकले प्रतियोगितात्मक रूपमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए भने वरिष्ठ साहित्यकार तथा आमन्त्रित सर्जकहरूले पनि रचना वाचन गरेका थिए।
साहित्यिक कार्यक्रमसँगै गीत, संगीत, नाटक, ख्याल, नृत्य र गीतिनाटकजस्ता सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो। यस्ता गतिविधिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै भाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
सम्मेलनको पहिलो दिन तःमुंज्याको मुखपत्र ‘तःमुंज्या ख्वपौं’ विमोचन गरिएको थियो। हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो।
नेपाल संवत् ११४६ को अवसरमा आयोजित सम्मेलनको उद्घाटन शुक्रबार सांस्कृतिक गुरु तथा ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गर्नुभएको थियो। नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा र मौलिक संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई साहित्य सिर्जनामा प्रोत्साहित गर्दै आएको आयोजक समितिले जनाएको छ।
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याका अध्यक्ष उकेश कवांका अनुसार सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहेको थियो।

