काठमाडौं, असोज ४ ।
१५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको आध्यात्मिक तथा भक्तिमूलक भावनाले ओतप्रोत नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक गरिएको छ।
डा. उपाध्यायकै शब्द तथा स्वरमा तयार भएको भजन काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। भजनमा भक्ति, आध्यात्मिक चेतना र सामाजिक सन्देशलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरिएको छ।
‘हरे कृष्ण’मा सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। खेमनाथ खनालको निर्देशनमा तयार भएको भिडियोमा रामशरण उप्रेतीको छायांकन तथा सञ्जय अधिकारीको दृश्य सम्पादन र कलर रहेको छ।
भिडियोमा डा. उपाध्यायसँगै सुनिता खनाल, तुलसी खड्कालगायत पारिवारिक व्यक्तित्वहरूको अभिनय रहेको छ।
भजन सार्वजनिक कार्यक्रममा गीत तथा भिडियोमा संलग्न सर्जकसँगै वरिष्ठ पत्रकार तुलसी गिरी, महेन्द्र माला खबर डटकमका धिरज दाहाल, सुभाष प्रधान, कृष्ण भुसाललगायतको उपस्थिति थियो। कार्यक्रममा सहभागी अतिथिहरूले डा. उपाध्यायको बहुआयामिक सिर्जनात्मक व्यक्तित्वसँगै उहाँको भक्ति भावनालाई समेत ‘हरे कृष्ण’ले अभिव्यक्त गरेको धारणा राखेका थिए।
डा. उपाध्यायले आफू देश तथा विदेशका विभिन्न मठमन्दिरको दर्शनसँगै सिर्जनात्मक यात्रालाई निरन्तरता दिइरहेको बताउनुभयो। साहित्य, गीत–संगीत तथा सिर्जनाका विभिन्न विधामा सक्रिय उहाँले नयाँ पुस्तामाझ मनोरञ्जनसँगै आध्यात्मिकता, सामाजिक चेतना र सकारात्मक सन्देश पुर्याउने उद्देश्यले पनि सिर्जना गर्दै आएको उल्लेख गर्नुभयो।
तीन दर्जनभन्दा बढी एल्बम
गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय डा. उपाध्यायका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन्। ‘प्रणय’, ‘नशालु नजर’, ‘जखम’, ‘प्रतिनाद’, ‘अन्तराप’, ‘सहेली’, ‘जोहो’, ‘माउण्टेन मेलोडी’, ‘परिष्कृत’, ‘कृति’, ‘पृथक’, ‘अन्जान तिर्खा’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’, ‘अनुभूतिको मझेरीमा’, ‘चाहनाको महल’, ‘कर्तव्य बोध’, ‘धरोहर’, ‘हृदयको झंकार’, ‘धर्ती र जीवन’, ‘प्रतिभा’, ‘सपनाको महल’, ‘धड्कन’, ‘आकांक्षा’, ‘अभिभूत’, ‘अभिलाषा’ र ‘आवृत’लगायत ३७ एल्बमका १५० भन्दा बढी गीतका भिडियो सार्वजनिक भइसकेका छन्।
गीत–संगीतसँगै पुस्तक लेखनमा समेत सक्रिय उपाध्यायका सिर्जनामा आकार, संरचना र विषयवस्तुका दृष्टिले विविधता पाइन्छ। उहाँले २ बाई २ इन्च आकारको गीत पुस्तक ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’, व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’, २४ बाई ३६ इन्च आकारको ठूलो गीत पुस्तक ‘अलौकिक’ तथा एक लाइन अंग्रेजी र अर्को लाइन नेपालीमा प्रस्तुत गरिएको गीति पुस्तक ‘अपरिमित’ पाठकमाझ ल्याउनुभएको छ।
उपन्यास र कवितामा पनि सक्रिय
उपन्यास विधामा समेत उपाध्यायको सक्रियता उल्लेखनीय छ। उहाँका ‘वज्राघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसूर’, ‘मझधार’ र ‘आशक्ति’लगायत उपन्यास प्रकाशित भइसकेका छन्। केही समयअघि उहाँको कवितासंग्रह ‘अन्तसंस्करण’ समेत सार्वजनिक भएको थियो।
सिर्जनात्मक प्रयोगमार्फत विश्व कीर्तिमान
डा. उपाध्यायले सिर्जनात्मक कर्ममार्फत विभिन्न विश्व कीर्तिमान कायम गरेको बताइन्छ। उहाँले गिनिज बुक अफ वर्ल्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लन्डन यूकेलगायत विभिन्न संस्थाबाट १५३ वटा विश्व रेकर्डका प्रमाणपत्र प्राप्त गर्नुभएको छ। एभरेस्ट वर्ल्ड रेकर्ड, स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड तथा ब्रिटिश वर्ल्ड रेकर्डलगायत संस्थाबाट समेत उहाँले रेकर्ड प्रमाणपत्र प्राप्त गर्नुभएको छ।
उहाँका कीर्तिमान सिर्जनात्मक प्रयोगसँग सम्बन्धित छन्। महिला तथा पुरुषले एकअर्काप्रति गर्नुपर्ने माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहारबारे एक–एक लाइनका सामाजिक सन्देश समेटिएको २८८ लाइनको गीत, सांकेतिक भाषाको गीत, तीनवटा सप्तकमा तयार गरिएको गीत तथा सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको नाम समेटिएको गीत उहाँका सिर्जनात्मक प्रयोगमध्ये पर्छन्।
त्यसैगरी १५० भन्दा बढी देशका पर्यटनस्थलका नाम समेटेर गीत तयार गर्ने, १८ अक्षरको छोटो गीत–संगीत तयार गर्ने तथा एउटै दिन चारवटा गीत लेखेर रेकर्ड गरी सार्वजनिक गर्ने लगायतका कीर्तिमान पनि डा. उपाध्यायको नाममा रहेको जनाइएको छ।
गीतकारका रूपमा समेत विभिन्न सम्मान प्राप्त गर्नुभएका उपाध्याय ‘हिरो २०१९’बाट सम्मानित हुनुभएको थियो। गीतकार संघ नेपालको नवौं वार्षिकोत्सवका अवसरमा उहाँलाई ‘वर्ष गीत पुरस्कार’ प्रदान गरिएको थियो। उहाँलाई मुम्बईको दादा साहेब फाल्के अवार्डबाट समेत सम्मान गरिएको जनाइएको छ।
सामाजिक चेतनाका विषयमा पनि सिर्जना
उपाध्यायका सिर्जनामा विषयगत विविधता देखिन्छ। प्रेम, माया, रोमान्स र विछोडसँगै समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम तथा सामाजिक चेतनाका विषय उहाँका गीतमा समेटिएका छन्। विभिन्न वर्ग, पेसा र समुदायका भावना तथा समस्यालाई गीतमार्फत अभिव्यक्त गर्ने प्रयास उहाँले गर्दै आउनुभएको छ।
चाडपर्व, छोरीको बिदाइ, पर्यटन प्रवर्द्धन, योग तथा स्वस्थ जीवनशैली, महिला हिंसा तथा प्रताडना, मजदुर, किसान र भरियाका जीवनभोगाइ उहाँका सिर्जनाका विषय बनेका छन्।
मनोरञ्जनसँगै सामाजिक चेतना र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आफूले विभिन्न विषयमा सिर्जना गर्दै आएको उपाध्याय बताउनुहुन्छ। यसै सिर्जनात्मक यात्राको पछिल्लो कडीका रूपमा ‘हरे कृष्ण’ भजन सार्वजनिक गरिएको उहाँको भनाइ छ।
