ललितपुर, साउन ३ । पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा र डिजिटल आत्मनिर्भरतासम्बन्धी विशेष कार्यशाला आयोजना गरेको छ। टेकपाइला इनोभेसन्स (TechPaaila Innovations) र वान कभर प्रालि (One Cover Private Limited) को सहकार्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई आधुनिक प्रविधिको प्रयोग, साइबर जोखिम र डिजिटल सुरक्षाबारे व्यवहारिक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता क्याम्पसका कार्यक्रम संयोजक फूलबाबु झाले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले उद्योगसँग जोडिएको व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीलाई समयानुकूल सीप प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन तथा पूर्व रजिस्ट्रार अजयकुमार थापाले विश्वविद्यालयको स्थापना, विकासक्रम र शैक्षिक योगदानबारे चर्चा गर्दै प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता भएको उल्लेख गरे। उनले उच्च शिक्षाले राष्ट्र निर्माणमा दीर्घकालीन योगदान पुर्याउन नवीन प्रविधि र अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रमका मुख्य वक्ता क्यान महासंघ (CAN Federation) का कार्यवाहक अध्यक्ष तथा टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले ‘सार्वभौम एआई (Sovereign AI)’ को अवधारणाबारे प्रस्तुति दिएका थिए। उनले नेपालजस्ता मुलुकले विदेशी डिजिटल प्लेटफर्ममा मात्र निर्भर नभई आफ्नै एआई प्रणाली, डाटा पूर्वाधार र प्रविधिगत क्षमता विकास गर्नुपर्ने आवश्यकता औँल्याए। यसले डिजिटल सुरक्षा, डाटा संरक्षण र दीर्घकालीन राष्ट्रिय हितलाई मजबुत बनाउने उनको भनाइ थियो।
डिन थापाले अधिकारीको प्रस्तुतिको प्रशंसा गर्दै साइबर सुरक्षा र एआई क्षेत्रमा ‘सीप–पहिलो’ (Skills First) अवधारणालाई प्राथमिकता दिनुपर्ने बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा श्रमिक शान्ति क्याम्पसका पूर्व अध्यक्ष हरिकृष्ण बञ्जाङ्करको पनि उपस्थिति रहेको थियो।
कार्यशालाको प्राविधिक सत्रमा एथिकल ह्याकर स्वागत अर्याल र प्रलिन बारामुले लाइभ ‘फिसिङ’ (Phishing) डेमो प्रस्तुत गरेका थिए। उनीहरूले सामाजिक इन्जिनियरिङमार्फत हुने साइबर आक्रमणका तरिका, तिनबाट बच्ने उपाय तथा एआईको प्रयोगले साइबर सुरक्षामा ल्याएको परिवर्तनबारे व्यवहारिक प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूको सहभागिता बढाउन कार्यक्रमको अन्त्यमा साइबर सुरक्षा र एआईसम्बन्धी अन्तर्क्रियात्मक प्राविधिक हाजिरीजवाफ (Quiz) प्रतियोगिता पनि आयोजना गरिएको थियो।
समापन समारोहमा कार्यक्रम संयोजक फूलबाबु झाले सहकार्य गर्ने संस्थाहरूप्रति आभार व्यक्त गर्दै निकट भविष्यमा टेकपाइला इनोभेसन्स र वान कभर प्रालिसँग औपचारिक साझेदारी (एमओयू) गरी विद्यार्थीका लागि मेन्टरसिप, इन्टर्नसिप तथा उन्नत तालिमका अवसर विस्तार गर्ने योजना रहेको जानकारी दिए।
कार्यक्रमले विद्यार्थीलाई आधुनिक प्रविधि, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ताको व्यवहारिक प्रयोगबारे ज्ञान प्रदान गर्नुका साथै शैक्षिक संस्था र सूचना प्रविधि क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
