किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को पूर्वी शहर बुटेम्बोस्थित अस्पतालबाट उपचाररत ६ वर्षीया इबोला संक्रमित बालिका र उनकी आमालाई सशस्त्र व्यक्तिहरूले जबर्जस्ती लगेको घटनापछि सुरक्षाकर्मी र स्वास्थ्य अधिकारीहरूले व्यापक खोजी अभियान थालेका छन्।
स्थानीय स्वास्थ्य अधिकारी डा. लुबाम्बो माबोको गास्टोनका अनुसार धारिलो हतियार बोकेका केही आक्रोशित व्यक्तिहरूले वानामाहिका अस्पतालमा प्रवेश गरी उपचाररत बालिकालाई आमासहित लिएर गएका हुन्।
ती व्यक्तिहरू बालिकाका आफन्त थिए वा होइनन् भन्ने खुलेको छैन। तर इबोला उपचार केन्द्रप्रति स्थानीय समुदायमा फैलिएको अविश्वास र डरका कारण यस्ता घटना दोहोरिने गरेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
अधिकारीहरूले बालिका र उनकी आमालाई तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्। उपचार बीचमै रोकिँदा उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्नुका साथै परिवार र समुदायमा संक्रमण फैलिने जोखिम बढ्ने चेतावनी दिइएको छ।
डीआर कंगोमा फैलिएको वर्तमान इबोला प्रकोपका क्रममा हालसम्म करिब ८४० संक्रमित फेला परिसकेका छन् भने झण्डै २०० जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। इबोला उपचार केन्द्रहरूमा आक्रमण, बिरामी र शव लैजान खोज्ने घटनाले संक्रमण नियन्त्रण अभियान थप चुनौतीपूर्ण बनेको छ।
गत महिना मोंग्ब्वालु क्षेत्रमा उपचार केन्द्रमा मृत्यु भएका आफन्तको शव लैजान खोज्दा प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको थियो। त्यस्तै, र्वाम्पारा क्षेत्रमा आक्रोशित भीडले अस्पतालका आइसोलेसन टेन्टमा आगजनीसमेत गरेको थियो।
स्थानीय नेताहरूका अनुसार दुर्गम क्षेत्रमा अझै पनि इबोला रोगप्रति भ्रम र गलत धारणा कायम छ। कतिपयले इबोलालाई बाहिरी शक्तिले सिर्जना गरेको भ्रमपूर्ण कथा ठान्ने गरेका छन् भने केहीले अस्पताल र गैरसरकारी संस्थाहरूलाई आर्थिक लाभका लागि रोगको प्रचार गरेको आरोप लगाउने गरेका छन्।
यसपटकको प्रकोप दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो। यस प्रजातिका लागि हालसम्म प्रभावकारी खोप उपलब्ध छैन। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार यस्तो खोप विकास हुन अझै केही समय लाग्न सक्छ।
हाल संक्रमण मुख्य रूपमा इटुरी, उत्तर किभु र दक्षिण किभु प्रान्तमा केन्द्रित छ। यस क्षेत्रमा जारी द्वन्द्व र विद्रोही गतिविधिका कारण स्वास्थ्यकर्मीहरूलाई संक्रमण नियन्त्रण गर्न थप कठिनाइ भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।\
BBC- स्रोत
