उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेश जाने क्रम पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको छ। कुनै समय सीमित सम्भ्रान्त वर्गका सन्तानहरू मात्र विदेश अध्ययनका लागि जाने गर्थे भने अहिले मध्यम वर्गीय परिवारका विद्यार्थीहरू पनि विश्वका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न पुगेका छन्।
१५ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय क्याम्ब्रिज एजुकेशन कन्सल्टेन्सीका संस्थापक शिशिर सिंखडाका अनुसार अध्ययनका लागि विदेश गएका अधिकांश नेपाली विद्यार्थीले उल्लेखनीय सफलता हासिल गरेका छन्। विदेश अध्ययनलाई लिएर हुने ‘ब्रेन ड्रेन’ सम्बन्धी बहस, विद्यार्थीको तयारी, छात्रवृत्तिको अवसर तथा विदेश अध्ययनका विविध पक्षबारे उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ।
विद्यार्थी किन विदेश अध्ययन गर्न जान्छन् ?
सिंखडाका अनुसार उच्च शिक्षाका लागि विदेश जाने प्रक्रियालाई ‘विदेश पलायन’का रूपमा मात्र हेर्नु उचित हुँदैन। उहाँका अनुसार ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न विदेश जाने विद्यार्थीले प्राप्त गरेको उपलब्धिले नेपाल र नेपालीको पहिचानलाई विश्वभर फैलाएको छ। धेरै विद्यार्थीले विदेशमा आर्जन गरेको ज्ञान र अनुभवलाई स्वदेश फर्केर पनि उपयोग गरिरहेका छन्।
विदेश जाने निर्णय कसरी लिनुपर्छ ?
उहाँका अनुसार विदेश अध्ययन गर्ने निर्णय आफ्नै इच्छा, क्षमता र लक्ष्यका आधारमा हुनुपर्छ। परिवारको दबाब, साथीभाइको प्रभाव वा देखासिकीका आधारमा गरिएको निर्णयले अपेक्षित सफलता दिन सक्दैन। फरक भाषा, संस्कृति र परिवेशमा संघर्ष गर्न सक्ने मानसिक तयारी भएका विद्यार्थीले मात्र विदेश अध्ययनबाट अधिकतम लाभ लिन सक्छन्।
कस्ता विद्यार्थी विदेश अध्ययनका लागि योग्य हुन्छन् ?
विदेश अध्ययनका लागि शैक्षिक योग्यता, भाषा दक्षता, आर्थिक क्षमता र स्पष्ट लक्ष्य आवश्यक हुन्छ। कक्षा १२ वा सो सरहको अध्ययन राम्रो नतिजासहित पूरा गरेको, IELTS वा PTE जस्ता भाषा परीक्षामा आवश्यक अंक हासिल गरेको तथा अध्ययनप्रति प्रतिबद्ध विद्यार्थी विदेश अध्ययनका लागि उपयुक्त मानिन्छन्। साथै, अभिभावकको प्रमाणित आयस्रोत र आर्थिक तयारी पनि महत्वपूर्ण पक्ष हो।
छात्रवृत्तिको अवसर कत्तिको उपलब्ध छ ?
सिंखडाका अनुसार विद्यार्थीको शैक्षिक नतिजा र भाषा परीक्षाको प्रदर्शनका आधारमा विभिन्न विश्वविद्यालय तथा कलेजहरूले १५ देखि ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने गरेका छन्। उत्कृष्ट नतिजा भएका विद्यार्थीले अझ बढी अवसर प्राप्त गर्न सक्छन्।
‘ब्रेन ड्रेन’ कि ‘ब्रेन गेन’ ?
विदेश अध्ययनलाई केवल प्रतिभा पलायनका रूपमा व्याख्या गर्न नमिल्ने सिंखडाको तर्क छ। उहाँका अनुसार विदेशमा हासिल गरिएको ज्ञान, सीप र प्रविधिले व्यक्तिलाई मात्र होइन, देशलाई पनि लाभ पुर्याउँछ। चीनलगायतका देशहरूले विदेशमा अध्ययन गरेका जनशक्तिको अनुभव र ज्ञानलाई उपयोग गरेर विकासको फड्को मारेको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो।
विदेश जानुअघि के तयारी आवश्यक छ ?
विद्यार्थीले आवेदन प्रक्रियासँगै सञ्चार सीप, व्यवहारिक दक्षता र आत्मनिर्भरता विकास गर्नुपर्ने उहाँको सुझाव छ। बारिष्टा, ड्राइभिङ, बेकरी, हेयरकटिङ जस्ता व्यावसायिक सीपले अध्ययनसँगै पार्ट–टाइम रोजगारीका अवसर प्राप्त गर्न सहयोग पुर्याउन सक्छ।
विदेश पुगेपछि सामना गर्नुपर्ने चुनौतीहरू
नयाँ वातावरण, संस्कृति, कानुन र जीवनशैलीसँग अभ्यस्त हुन समय लाग्ने भएकाले मानसिक रूपमा पनि तयार हुन आवश्यक रहेको सिंखडाको भनाइ छ। आर्थिक व्यवस्थापन, अध्ययनको दबाब र एक्लोपनजस्ता चुनौतीहरूलाई सकारात्मक सोच र अनुशासनका साथ सामना गर्नुपर्ने उहाँको सुझाव छ।
क्याम्ब्रिज किन फरक ?
नेपाल सरकारबाट मान्यता प्राप्त क्याम्ब्रिज एजुकेशन कन्सल्टेन्सीले विगत १५ वर्षदेखि विद्यार्थीलाई विदेश अध्ययनसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ। विद्यार्थीको रुचि, क्षमता, आर्थिक अवस्था र भविष्यको लक्ष्यको मूल्याङ्कन गरी उपयुक्त देश, कलेज तथा विश्वविद्यालय छनोटमा सहयोग गर्ने संस्थाको विशेषता रहेको सिंखडाले बताउनुभयो।
क्याम्ब्रिजले उपलब्ध गराउने सेवाहरू
संस्थाले शैक्षिक परामर्श, IELTS तथा PTE तयारी कक्षा, विश्वविद्यालय आवेदन, भिसा प्रक्रिया तथा विदेश पुगेपछिको समन्वयसम्मका सेवा उपलब्ध गराउँदै आएको छ। “हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको सफल भविष्य निर्माणमा सहयात्री बन्नु हो,” सिंखडा भन्नुहुन्छ।
सेवा सञ्जाल र अन्तर्राष्ट्रिय सहकार्य
क्याम्ब्रिजको मुख्य कार्यालय काठमाडौंको बागबजारमा रहेको छ भने अष्ट्रेलिया र बेलायतमा पनि शाखा कार्यालय सञ्चालनमा छन्। संस्थाले अष्ट्रेलिया, क्यानडा, बेलायत, न्यूजिल्यान्ड, अमेरिका लगायतका देशका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आएको जनाएको छ।
विद्यार्थीलाई सन्देश
विदेश अध्ययन जीवनको महत्वपूर्ण निर्णय भएकाले अरूको प्रभावमा होइन, आफ्नै लक्ष्य र क्षमताका आधारमा निर्णय गर्नुपर्ने सिंखडाको सुझाव छ। विदेश जानुअघि सम्बन्धित देशको शिक्षा प्रणाली, जीवनशैली, आर्थिक अवस्था तथा विद्यार्थी नीतिबारे पर्याप्त जानकारी लिन आवश्यक रहेको उहाँ बताउनुहुन्छ। साथै, विश्वसनीय र आधिकारिक शैक्षिक परामर्श संस्थामार्फत मात्र प्रक्रिया अघि बढाउन उहाँले आग्रह गर्नुभएको छ।
