एभरेष्ट इन्जिनियरिङ कलेज मा तीन दिने शोध लेखन तालिम सम्पन्न भएको छ । देशकै उत्कृष्ट प्राविधिक शिक्षण संस्थामध्ये एक मानिने सानेपास्थित कलेजमा आयोजित तालिममा अनुसन्धान तथा अन्तर्राष्ट्रिय स्तरको शोध लेख प्रकाशन सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।
युरोपको आईएमसि विश्वविद्यालय मा लामो समयदेखि अध्यापन तथा अनुसन्धानमा संलग्न प्रा.डा. सरिता पौडेल ले अनुसन्धान नगरी देश विकास सम्भव नहुने र अनुसन्धानको नतिजा प्रकाशन गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन् । उनले शोध लेखनमा सहयोगी विभिन्न लिङ्क तथा स्रोतहरूको प्रयोगबारे जानकारी गराइन् ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान का डा. पवनकुमार भट्टराई ले विद्यार्थी तथा शिक्षकद्वारा उच्चस्तरीय रिसर्च जर्नलमा प्रकाशित शोध लेखकै आधारमा कलेज तथा विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय स्तर निर्धारण हुने भएकाले गुणस्तरीय अनुसन्धान र प्रकाशनमा जोड दिनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन योग्य शोध लेखका आवश्यक गुणबारे विस्तृत जानकारी दिएका थिए ।
कलेजका स्नातकोत्तर कार्यक्रम संयोजक इन्जिनियर नारायण सापकोटा तथा प्रा.डा. प्रदिप पौडेल ले स्नातकोत्तर तथा विद्यावारिधी तहका विद्यार्थीहरूलाई शोध लेख तयारीमा उपयोगी विभिन्न इन्टरनेट स्रोत तथा व्यावहारिक प्रयोग विधिबारे प्रशिक्षण दिएका थिए ।
त्यसैगरी, एभरेष्ट इन्जिनियरिङ कलेज का प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ ले समकक्ष समीक्षा (पियर रिभ्यू) प्रक्रिया शोध लेख प्रकाशनको अभिन्न हिस्सा भएको उल्लेख गर्दै यसको प्रक्रिया र महत्वबारे प्रशिक्षार्थीसँग अन्तरक्रिया गरेका थिए ।
तालिम समापन कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेज तथा युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज का सहभागी प्रशिक्षार्थी र प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा कलेजको अनुसन्धान समितिले उक्त तालिम आयोजना गरेको हो ।
