किन्शासा/इटुरी।प्रजातान्त्रिक गणतन्त्र कंगो (DR Congo) को उत्तरपूर्वी इटुरी प्रान्तस्थित इबोला उपचार केन्द्रमा शुक्रबार दुर्लभ खुसीको दृश्य देखियो। तीन सातासम्म उपचार गराएका ४९ वर्षीय ड्यानियल किताम्बाला इबोलामुक्त भएको पुष्टि भएपछि स्वास्थ्यकर्मीहरूले गीत गाउँदै र नाच्दै उनलाई बिदाइ गरे।
दुई पटकको परीक्षणमा इबोला भाइरस नेगेटिभ देखिएपछि उनलाई उपचार केन्द्रबाट डिस्चार्ज गरिएको हो। स्वास्थ्यकर्मीहरूले “हामीमाथि कृपा भएको छ, बिरामीहरूमाथि कृपा भएको छ” भन्दै उत्सव मनाएका थिए।
घर फर्किने क्रममा ड्यानियलले भने, “यो रोग निकै भयानक छ। यहाँ आउँदा मेरो अवस्था निकै गम्भीर थियो। तर भगवान् महान् हुनुहुन्छ, अहिले म पूर्ण रूपमा निको भएको छु।”
इटुरी प्रान्तमा फैलिएको पछिल्लो इबोला प्रकोपमा हालसम्म १४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको पुष्टि भएको छ। करिब एक महिनाअघि आधिकारिक रूपमा घोषणा गरिएको यो प्रकोप सम्भवतः महिनौँअघिदेखि फैलिरहेको हुन सक्ने स्वास्थ्य अधिकारीहरूको अनुमान छ।
अधिकारीहरू संक्रमण नियन्त्रणका लागि संघर्षरत छन्। स्थानीय क्षेत्रमा अझै पनि इबोलाबारे विभिन्न भ्रम र अन्धविश्वास कायम रहेका छन्। कतिपयले रोगलाई “कफिन श्राप” को परिणाम मान्ने गरेका छन् भने उपचार केन्द्रहरूलाई नै समस्या ठान्ने प्रवृत्ति पनि देखिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता भ्रम चिर्दै समुदायमा जनचेतना फैलाउनु संक्रमण नियन्त्रणको मुख्य चुनौती बनेको छ।
