जबरजस्ती फोटो खिचेर छापियो, त्यसपछि श्रीषाले देह त्यागिन्’ — बसुन्धरा भुसाल
काठमाडौं । अभिनेत्री बसुन्धरा भुसाल ले एक अन्तर्वार्ताका क्रममा दिवंगत अभिनेत्री श्रीषा कार्की र वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सम्बन्धी पुराना घटनाबारे थप खुलासा गरेपछि सामाजिक सञ्जालमा बहस चर्किएको छ ।
देश सञ्चारसँगको कुराकानीमा भुसालले केही व्यक्तिहरूले फिल्म खेलाउने बहानामा श्रीषालाई बोलाएर जबरजस्ती फोटो खिचेको र पछि त्यसैलाई लिएर आर्थिक दबाबसमेत दिएको दाबी गरेकी छन् । उनले श्रीषाले आफूलाई पटक–पटक रोँदै घटनाबारे सुनाउने गरेको उल्लेख गर्दै, पत्रिकामा फोटो नछापिदिन अनुरोध गर्दा पनि अन्ततः प्रकाशित भएपछि श्रीषाले देह त्याग गरेको बताएकी छन् ।
भुसालले त्यस समय न्यायका लागि कानुनी लडाइँ लडेको स्मरण गर्दै, “त्यो बेला कलमले हत्या गर्दा सजाय गर्ने कानुन नै थिएन” भन्ने भावनात्मक अभिव्यक्ति पनि दिएकी छन् ।
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक भएपछि “सिन्धुको चेलीले न्याय पाउँदिनन् त ?” भन्ने प्रश्न उठाउँदै धेरै प्रयोगकर्ताले निष्पक्ष छानबिन र सत्यतथ्य बाहिर ल्याउन माग गरिरहेका छन् ।
घटनाबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् भने पीडित पक्षलाई न्याय दिनुपर्ने आवाज फेरि बलियो बनेको देखिन्छ ।
‘
