पछिल्लो समय भजन–चुड्काप्रति बढ्दो आकर्षण
गोरखा,१० जेठ — धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति जनचासो बढिरहेका बेला गोरखाको पालुङटारमा “पालुङटार भजन महोत्सव–२०८३” भव्य रूपमा आयोजना हुने भएको छ।
पालुङटार नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सव पालुङटारस्थित ओंकार योग आयुर्वेद गुरुकुल मा सम्पन्न हुने आयोजकले जनाएको छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
पछिल्लो समय नेपालका विभिन्न स्थानमा भजन, चुड्का तथा आध्यात्मिक सांगीतिक कार्यक्रमप्रति आकर्षण उल्लेखनीय रूपमा बढिरहेको छ। विशेषगरी युवापुस्तामाझ पनि भक्ति संगीत, लोकभजन र सांस्कृतिक प्रस्तुतिप्रति रुचि बढ्दै गएको आयोजकहरूको भनाइ छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका कलाकार नारायण स्याङ्तान, बबिन पौडेल, प्रेमराज अधिकारी, भरत बराइला, मीना थापा तथा लक्ष्मी पौडेल लगायतको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा राधाकृष्ण भजन, राम तथा कृष्णभक्ति गीत, नृत्य र सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिनेछ। नेपाली कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।
महोत्सवलाई राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान ले सहयोग गर्नेछ भने ओंकार योग आयुर्वेद गुरुकुल र ओंकार परिषद्ले व्यवस्थापनमा सहकार्य गर्ने भएका छन्।
आयोजकका अनुसार कार्यक्रम आगामी जेठ २५ गते बिहान १० बजेदेखि सञ्चालन हुनेछ। महोत्सवमा पालुङटारसहित आसपास क्षेत्रका धर्मप्रेमी, संगीतप्रेमी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
