प्रहरी हिरासतमा हुने दुर्व्यवहारबारे रास्वपा सांसद यज्ञमणि न्यौपानेको गम्भीर प्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रहरी हिरासतमा रहेका थुनुवामाथि हुने दुर्व्यवहार, मानव अधिकार उल्लङ्घन तथा गैरकानुनी व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
संसद्मा धारणा राख्दै सांसद न्यौपानेले सरकारले सार्वजनिक गरेको “८३७ जना प्रहरीले मानव अधिकार उल्लङ्घन गरेको भन्दै कारबाही गरिएको” भन्ने विवरणप्रति प्रश्न उठाउनुभयो । उहाँले उक्त कारबाहीको प्रभावकारिता र निष्पक्षतामाथि समेत जिज्ञासा राख्नुभयो ।
“मैले नाम नभनौँ भनेको थिएँ, तर एउटा नाम भन्छु — रवि लामिछानेमाथि मानव अधिकार उल्लङ्घन गर्ने प्रहरीलाई कारबाही भयो कि भएन ? यसको पनि जानकारी पाउनुपर्छ,” भन्दै उहाँले निष्पक्ष छानबिन र पारदर्शी जवाफदेहिताको माग गर्नुभयो ।
सांसद न्यौपानेले प्रहरी हिरासतमा थुनुवामाथि हुने दुर्व्यवहार लोकतान्त्रिक शासन व्यवस्थामाथिकै गम्भीर प्रश्न भएको उल्लेख गर्दै कानुन कार्यान्वयन गर्ने निकाय स्वयं मानव अधिकारप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले हिरासतभित्र हुने अमानवीय व्यवहार, मानसिक दबाब तथा दुर्व्यवहार रोक्न प्रभावकारी अनुगमन संयन्त्र आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले राज्यका निकायले कुनै पनि व्यक्तिप्रति राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा शक्ति प्रदर्शनका आधारमा व्यवहार गर्न नहुने उल्लेख गर्दै मानव अधिकारको संरक्षण सबै नागरिकको संवैधानिक अधिकार भएको बताउनुभयो ।
सांसद न्यौपानेको भनाइपछि संसद्मा हिरासतभित्र हुने व्यवहार, मानव अधिकार संरक्षण तथा सुरक्षा निकायको जवाफदेहिताबारे थप बहस सुरु भएको छ ।
