बुटवल, वैशाख
राष्ट्रियता, देशभक्ति र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्दै ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको गोरखा–जितगढी पदयात्रा उल्लेखनीय जनसहभागितासहित बुटवलस्थित जितगढीमा सम्पन्न भएको छ।
नेपाली सेनाको पहलमा गोरखा दरबारबाट सुरु गरिएको उक्त पदयात्रा वैशाख ७ गते जितगढी किल्लामा पुगेर औपचारिक रूपमा समापन गरिएको हो।
पदयात्रामा विभिन्न क्षेत्रका सर्वसाधारण, सुरक्षाकर्मी, विद्यार्थी तथा देशभक्त युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले ऐतिहासिक स्थलहरूको महत्व उजागर गर्दै राष्ट्रिय एकताको सन्देश प्रवाह गरेका थिए।
उक्त पदयात्राले नेपाल–अङ्ग्रेज युद्धकालीन वीरताको प्रतीक जितगढी किल्लाको ऐतिहासिक महत्वलाई पुनः स्मरण गराउँदै नयाँ पुस्तामा इतिहासप्रति चासो र सम्मान अभिवृद्धि गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ।
कार्यक्रममार्फत राष्ट्रिय पहिचान सुदृढ पार्नुका साथै ऐतिहासिक सम्पदाको संरक्षणमा सबैलाई प्रेरित गर्ने उद्देश्य पूरा भएको जनाइएको छ।


