काठमाडौं, वैशाख ७, २०८२
कवि सन्तोषी पाण्डेको पहिलो कवितासङ्ग्रह ‘सुमेरण’ आज काठमाडौंमा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।
साहित्यिक पत्रकार संघ का अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समालोचक प्रमोद प्रधान, शारदा मासिकका सम्पादक कवि विमल भौकाजी, कवि सन्तोषीकी माताश्री देउसदा पाण्डे, दाजु पवनजङ्ग पाण्डे तथा भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली लगायतको उपस्थिति रहेको थियो। मञ्चासीन व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।
कृतिबारे समालोचनात्मक मन्तव्य राख्दै प्रमोद प्रधानले नेपाली साहित्यमा कविताको महत्वपूर्ण स्थान रहेको उल्लेख गरे। कविता केवल शब्द संयोजन नभई समवेदना र अनुभूतिको अभिव्यक्ति हुने बताए। उनले सन्तोषीका कवितामा ‘कवि चेतना’ स्पष्ट देखिएको उल्लेख गर्दै सङ्ग्रहभित्रका ३१ वटै कविता प्रतिस्पर्धी र प्रभावकारी रहेको धारणा राखे। साथै, नेपाली साहित्यका अग्रज कृतिहरू अध्ययन गर्न सुझाव दिँदै ‘तिम्रो स्वतन्त्रता’ शीर्षक कविता वाचनसमेत गरेका थिए।
सभाका सभापति राधेश्याम लेकालीले नेपाली साहित्यलाई विश्व बजारमा पुर्याउन गुणस्तरीय सम्पादन आवश्यक रहेको बताए। उनले कृतिका सम्पादक विमल भौकाजीलाई ‘सूत्रधार’को संज्ञा दिँदै धन्यवाद व्यक्त गरे। दुई वर्षसम्म डायरीमा सीमित रहेका कविताहरू पुस्तकका रूपमा आएकोमा खुशी व्यक्त गर्दै सन्तोषीका कविताहरू समयसापेक्ष रहेको बताए।
सम्पादक विमल भौकाजीले कृतिको सम्पादन प्रक्रियाबारे चर्चा गर्दै सन्तोषीका कविताहरू आत्मसात गरेर काम गरेको बताए। उनका अनुसार पहिलो कृति भए पनि ‘सुमेरण’मा कवितामा हुनुपर्ने सबै गुण समेटिएका छन्।
कवि सन्तोषी पाण्डेले आफ्नो मन्तव्यमा ‘सुमेरण’ केवल नाम नभई जीवनकै प्रिय सम्बोधन भएको बताइन्। पुस्तकभित्रका प्रत्येक शब्द आफ्नो जीवनका अनुभूति, पीडा, आशा र विश्वासबाट जन्मिएको उल्लेख गर्दै ‘अमिट स्मृति’ कविता वाचनमार्फत दिवङ्गत दाजुप्रति श्रद्धाञ्जलि अर्पण गरिन्।
कार्यक्रममा कवि तथा गीतकार सुमन थापा ‘संगम’ले ‘कविताको जन्म’ शीर्षक कविता वाचन गरेकी थिइन्।
प्रकाशक केशव पराजुलीले पहिलो कृति भए पनि पठनीय र प्रभावकारी भएकाले प्रकाशन गरिएको बताए।
उक्त कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्की, राजेश खनाल, श्रीराम राई, शिवप्रसाद भट्टराई, जीवन श्रेष्ठ, शरद प्रधान, डीआर राई, वीरेन्द्र पाठक, त्रिचन्द्र श्रेष्ठ ‘प्रतीक्षा’, नमस्तेलाल भूमि, भीम राना ‘जिज्ञासु’, ऋतु कंडेल, सुमेरण पाण्डे लगायतका साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
काठमाडौंको डालो रेष्टुरेन्टमा सम्पन्न कार्यक्रम सुभाष चन्द्र पौडेल ‘भीमफेदीया’ले सञ्चालन गरेका थिए।
