दीपक–प्रहीलको सहकार्यमा ‘बालखैमा दिल बस्यो गौथली २’ सार्वजनिक : निश्चलको स्वर, आयुषी–आलोकको अभिनयले फेरि छोयो मन
पहिलो भागले युट्युबमा ६ करोडभन्दा बढी भ्यूज बटुल्दै सर्वत्र चर्चा कमाएपछि बालखैमा दिल बस्यो गौथलीको दोस्रो संस्करण ‘बालखैमा दिल बस्यो गौथली २’ आधिकारिक रूपमा सार्वजनिक भएको छ।
दर्शकको निरन्तर माया र सकारात्मक प्रतिक्रियाले निर्माण टोलीलाई दोस्रो श्रृंखला तयार गर्न प्रेरित गरेको बताइन्छ।
यसपटक पनि गीतमा बालगायक निश्चल अधिकारीको मधुर आवाज, दीपक शर्माको शब्द तथा संगीत, र नरेन्द्र वियोगीले गरेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ।
भिडियोमा आलोक चौरेली र आयुषा ढकालको कोमल, स्वाभाविक र प्रभावकारी अभिनयले कथा अझै जीवन्त बनेको छ।
भिडियोलाई गाउँको सीमाबाट शहरको भीडभाडमा प्रवेश गर्ने एक बालकको संघर्ष यात्रामा केन्द्रित गरिएको छ। शहरमा पुगेपछि उसले भोग्नुपरेको कष्ट, असहजता र उसको हिम्मत टुट्दै गएको अवस्थामा उस्तै उमेरकी आयुषीले देखाएको सहयोग र प्रेरणाले कथामा मानवीय संवेदना थपेको छ।
यही यथार्थ र सन्देशलाई लोकप्रिय युवा निर्देशक प्रहील कार्कीले कलात्मक तथा कथन–शैलीसहित दृश्यमा उतारेका छन्।
काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको भिडियो राजेश घिमिरेले मुख्य रूपमा खिचेका हुन् भने केही दृश्य योगेन थापाले सम्हालेका छन्। सम्पादन माधव वेल्वासेको प्रस्तुतिमा भिडियोलाई सशक्त रूप प्रदान गरिएको छ।
गीत सार्वजनिकसँगै संगीतकार दीपक शर्माले यस कृतिले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
गीत आधिकारिक रूपमा निश्चल अधिकारीको युट्युब च्यानलमार्फत दर्शकसम्म पुगेको छ।
भिडियो हेर्नुस्
