काठमाडौं।नेपाली गीत–सङ्गीत क्षेत्रका सर्जक, कलाकार तथा विभिन्न विधामा योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्दै तेस्रो क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ सम्पन्न भएको छ।
नेपाली मौलिक कला, संस्कृति र सङ्गीतको पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘मौलिक कला, संस्कृति हाम्रो पहिचान’ भन्ने नारामा आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकारलाई अवार्ड प्रदान गरिएको हो।
समारोहमा राष्ट्रिय गीत विधातर्फ ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ का सर्जक डी.बी. पराजुली सर्वोत्कृष्ट घोषित भए। देशप्रेम, राष्ट्रियता र स्वाभिमानलाई गीतमार्फत प्रस्तुत गरेको उक्त सिर्जनाले यस वर्षको अवार्ड प्राप्त गरेको हो।
त्यस्तै, ‘कालीगङ्गा’ गीतका लागि दीपक बी.सी.ले सर्वोत्कृष्ट साउन्ड रेकर्डिस्टको अवार्ड पाए भने ‘रुनुको अर्थ’ गीतका निर्देशकले सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको सम्मान प्राप्त गरे।
अवार्डअन्तर्गत लोक तथा दोहोरी, आधुनिक, पूर्वेली, लोकआधुनिक र म्युजिक भिडियो लगायतका विधामा पनि प्रतिभाहरूलाई पुरस्कृत गरिएको थियो। अवार्ड प्राप्त गर्नेहरूमा देवी खवास, सुदीप परियार, अस्मिता रनपाल, संगम मगर, बिरेन्द्र नौभाग्य, जूना सुन्दास, देवेन्द्र सारु मगर, राहुल श्रेष्ठ, उषा गजुरेल, कान्छा सारु मगर, विजय गौतम, गोविन्दबहादुर प्रधान, शान्तिश्री परियार, विष्णु परियार, अमृत आचार्य, एनिस एन्जल राई र प्रकाश दर्नाललगायत रहेका छन्।
कार्यक्रममा गीत–सङ्गीतका क्षेत्रमा सिर्जनात्मक योगदान दिने कलाकारसँगै पत्रकारिता, सञ्चार र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो।
वरिष्ठ लोक तथा दोहोरी गायिका बिमा कुमारी दुरालाई रजत सम्मान प्रदान गरिएको थियो। वरिष्ठ पत्रकार शंकर रोक्काले वर्ष पत्रकार सम्मान प्राप्त गर्दा रमेश श्रेष्ठ दशक सम्मानबाट सम्मानित भए। यसैगरी हुम गैरे, सुवास कुँवर, लिला खनाल, बिमला सुनार, बाल गायिका मन्जली तामाङ तथा सञ्चारकर्मी विनोद नेपालीलाई पनि विभिन्न विधामा सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक बिजेन्द्र नौवागेका अनुसार नेपाली सङ्गीत क्षेत्रमा क्रियाशील नयाँ तथा पुराना प्रतिभालाई एउटै मञ्चमा ल्याउने, उनीहरूको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने र योगदानको कदर गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको हो।
मुक्तिनाथ विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भरतराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कला, साहित्य, सञ्चार, व्यवसाय तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार अवार्डको छनोट प्रक्रियामा ५० प्रतिशत जनमत र ५० प्रतिशत निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइएको थियो। निर्णायक मण्डलको नेतृत्व अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक बालकृष्ण बस्नेतले गरेका थिए।
चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा विभिन्न कलाकारले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए। सोसल मिडिया एण्ड लिगल सर्भिस प्रा.लि.को व्यवस्थापन तथा ईसेवाको भोटिङ साझेदारीमा सम्पन्न कार्यक्रमले नेपाली गीत–सङ्गीत क्षेत्रका प्रतिभालाई थप प्रोत्साहन गर्ने आयोजकको अपेक्षा छ।
नेपाली मौलिक सङ्गीत, कला र संस्कृतिको संरक्षणसँगै सर्जकको योगदानलाई सम्मान गर्ने यस्ता कार्यक्रमले सङ्गीत क्षेत्रको सिर्जनात्मक यात्रालाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ।
