च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कृषि समाचार

स्याङ्जाको भीरकोटमा कृषि र पशु विकासमा परियोजना सुरु हुँदै ।

स्याङ्जा :
स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । भीरकोटका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको भीरकोट नगरपालिकाले जनाएको छ ।
कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँग मिलेर काम गर्न सुरु गरेको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“समथर भन्दा धेरै पहाडी क्षेत्र भएको भीरकोटमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेका छौं ।” उत्पादनसँगै बजारीकरण गर्ने उद्देश्यले विशेष कार्यक्रम सुरु गरेको उहाँको भनाई छ ।
परियोजनाले कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्ने प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुलीले जानकारी दिनुभयो । कार्यक्रमले कृषि उत्पादन र बजारीकरण महत्वपूर्ण सहयोग पु¥याउने उहाँको भनाई छ ।
हस्ताक्षर कार्यक्रममा हेफर प्राजेक्ट नेपालका सचिव निर्मला क्षेत्रीले महिला तथा पछाडि परेका समुदायलाई परियोजनाले उद्यमशीलतामा जोड्ने जानकारी दिनुभयो । संविधानले दिएको अधिकारलाई स्थानीय सरकारले प्रयोग गर्न जरुरी रहेको भन्दै क्षेत्रीले कार्यक्रम महिलाहरुको आर्थिक उन्नतीमा सहयोगी हुने स्पष्ट पार्नु भयो ।
नगरका नौं वडाका निम्न आय घर परिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिनुभयो । विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ छ ।
हस्ताक्षर कार्यक्रममा वडा अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसी,वडा अध्यक्ष नन्दलाल खनाल,लक्ष्मण क्षेत्री, हेफर प्राजेक्टका वित्तिय निर्देशक चैतन्य गोपाल डंगोल, बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे,दियालो संस्थाका कार्यबाहक अध्यक्ष विष्णु सुवेदी लगायतले कार्यक्रमको बारेमा बोल्नु भएको थियो ।
भीरकोट नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सञ्चालन गर्न बुधबार हस्ताक्षर गरिएको हो ।
परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ । परियोजनाका २० महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *