रमिला योञ्जन
कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा प्रधानमन्त्री उपस्थित हुनुभएन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री एवम अध्यक्ष केपी ओली सहभागी नभएपछि बैठक प्रभावित भएको हो ।
बैठक प्रभावित भएकै कै बेला नेकपाका दुई नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् ।
संसद बैठक आह्वानका लागि अनुरोध गर्न हस्ताक्षर सहित स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेको श्रोत ले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले नेताहरु राष्ट्रपतिलाई भेट्नका शीतल निवास आएको पुष्टि गरेका छन् ।
संसदलाई छलेर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै चर्को विरोध हुँदै आएको छ ।
विवादका कारण स्थायी समिति बैठक समेत प्रभावित भएको र संसद बैठकको विकल्प नभएको निष्कर्ष निकाल्दै नेकपाको तर्फबाट रावल र भुसाल शीतल निवास पुगेका छन्।
समसदको अधिवेशन बोलाउन नेकपा नेताहरु रावल र भुसाल शीतल निवास पुग्नुभएको हो तर सचिव डा.हरि पौडेल,मोबाइल बन्द गरेर सम्पर्क बिहिन हुनुभएको श्रोतले जनाएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको च्याम्बरमा दुई अध्यक्षवीचको बहस बिना सुलह टुङ्गिएको थियो ।
हाल प्रधानमन्त्री ओलीको अनुपस्थितिमा नै स्थायी समिति बैठक शुरु भएको छ ।
सरकारले अकस्मात् ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न बूढानिलकण्ठमा जारी नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा,महामन्त्री पूर्णबहादुर खड्का,रामचन्द्र पौडेल,डा.रामशरण महत, प्रकाशमान सिंह,उपसभापतिद्वय बिमलेन्द्र निधि,कोषाध्यक्ष सीतादेवी यादव,विश्वप्रकाश शर्मा,गोपालमान श्रेष्ठ,बिजयकुमार गच्छेदार,सुनिल थापा र रमेश लेखक लगायत २० जना उपस्थित हुनुभएको छ ।
