काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल तथा संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य सहभागी हुनुहुन्छ।
त्यसैगरी, उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन जना प्रतिनिधिसहित भ्रमण टोलीमा कुल ३५ जना सदस्य रहेका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ। साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यतालिका तय भएको छ।
भ्रमणका अवसरमा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यासम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, दुई देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासजस्ता क्षेत्रमा आपसी सहकार्य विस्तारका लागि विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिने जनाइएको छ।
भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। यस्तै, भोलि सोमबार प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी मंसिर ७ गते साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यतालिका रहेको छ।
भ्रमण टोली स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमार्फत भ्रमणका उपलब्धि तथा छलफलका विषयमा जानकारी गराउनुहुनेछ।
