राभाङ्ला (सिक्किम),नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण र अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ को छैटौँ संस्करण साउन ५ मा भारतको सिक्किमस्थित रमणीय पर्यटकीय नगर राभाङ्लामा भव्य रूपमा सम्पन्न भएको छ।
भाषा, साहित्य, कला–संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’** भन्ने मूल नारासहित आयोजित समारोहमा नेपाल, सिक्किम तथा भारतका विभिन्न क्षेत्रका साहित्यकार, कलाकार, संगीतकर्मी, सञ्चारकर्मी, समाजसेवी तथा सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सिक्किम वेभ्स मिडिया र सिक्किम अनलाइन न्यूज मिडियाको सहकार्यमा सम्पन्न कार्यक्रममा सिक्किमका विधायक रिक्साल दोर्जे भुटिया प्रमुख संरक्षकका रूपमा सहभागी भएका थिए। अवार्ड समारोहसँगै आयोजित सांगीतिक कार्यक्रममा चर्चित कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका वरिष्ठ साहित्यकार अमर वान्तु र सिक्किमका साहित्यकार हरि ढुंगेल लाई हिमालयन इन्टरनेशनल अवार्ड–२०२६’ अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो। नेपाली भाषा, साहित्य, संगीत तथा समाजमा उहाँहरूले पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै उक्त सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ।
यस वर्ष गीत, संगीत, साहित्य, अभिनय, मोडलिङ, निर्देशन, गीत लेखन, संगीत सिर्जना, कोरियोग्राफी, सम्पादन लगायतका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने दर्जनौँ स्रष्टा तथा कलाकारलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। राइजिङ स्टारदेखि जुरी अवार्डसम्मका विभिन्न विधामा प्रतिभाहरू सम्मानित भएका थिए।

कार्यक्रमसँगै आयोजित सांगीतिक कार्यक्रममा तारावीर पाण्डे, अशोक दर्जी, शंकर थापा ‘स्माइल’, सारिका घिमिरे, षड्ज सम्बाहाम्फे, सुमन बी.टी., प्रकाशजंग कार्की, सुन्दर राई, विनोद दनुवार, रमेश पाठक, पवित्रा गुरुङ र अनिश योञ्जनलगायतका कलाकारले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। नृत्यतर्फ पवित्रा आचार्य र शिला गजुरेलसहितका कलाकारको प्रस्तुति दर्शकको आकर्षण बनेको थियो।
साहित्यिक सत्रमा वरिष्ठ साहित्यकार अमर वान्तु तथा डा. विलोल पोखरेलले कविता वाचन गर्दै समकालीन नेपाली साहित्य र सिर्जनात्मक यात्राबारे आफ्ना विचार प्रस्तुत गरेका थिए। कार्यक्रममा सिक्किमका कवि फुर्बा खाण्डु शेर्पाको कवितासङ्ग्रह ‘देउराली भञ्जाङ’ को पनि लोकार्पण गरिएको थियो।

अवार्डका अध्यक्ष गणेश सुवेदीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले हिमालयन इन्टरनेशनल अवार्डलाई निरन्तरता दिइएको बताउँदै नेपाल र विश्वभर रहेका नेपालीभाषी स्रष्टालाई एउटै साझा मञ्चमा जोड्ने अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम संयोजक गीता अधिकारीका अनुसार सिक्किममा उपस्थित हुन नसकेका सम्मानित स्रष्टा तथा कलाकारलाई निकट भविष्यमा काठमाडौंमा विशेष समारोह आयोजना गरी सम्मान तथा अवार्ड प्रदान गरिनेछ। यसअघि हिमालयन इन्टरनेशनल अवार्डको पाँचौँ संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो।
आयोजकका अनुसार हिमालयन इन्टरनेशनल अवार्डले नेपाल र भारतका नेपालीभाषी समुदायबीच साहित्य, संगीत, कला र संस्कृतिको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली भाषाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

