अछाम । अछाम जिल्लाको बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समितिद्वारा निर्मित “उज्यालो शाही स्मृति स्तम्भ” को उद्घाटन गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ मा आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले स्तम्भको उद्घाटन गरेका हुन् ।
स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको बागेश्वरी क्षेत्रमा निर्माण गरिएको उक्त स्मृति स्तम्भले धार्मिक पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै पूर्व सचिव बाँस्कोटाले ऐतिहासिक व्यक्तित्वहरूको सम्मान र स्मरणले समाजलाई सकारात्मक सन्देश दिने बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे ।

स्मृति स्तम्भ पञ्चदेवल विनायक नगरपालिका–४ स्थित प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने वर्गीय भगवती शाहीको सम्मान तथा सम्झनामा निर्माण गरिएको समितिले जनाएको छ ।
स्थानीयवासी, जनप्रतिनिधि, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा धार्मिक सांस्कृतिक गतिविधिसमेत प्रस्तुत गरिएको थियो ।

