काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज र भायोनेट कम्युनिकेशन लिमिटेड बीच दूरसञ्चार तथा सूचना प्रविधि (आइटी) विषय अध्ययनरत विद्यार्थीलाई शिक्षा र उद्योगसँग जोड्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
भक्तपुरको चाँगुनारायणस्थित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई उद्योग तथा व्यवसायसँग प्रत्यक्ष जोड्ने लक्ष्यसहित नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था भायोनेटसँग सहकार्य गरेको जनाएको छ ।
एमओयू पत्रमा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, कम्प्युटर इन्जिनियरिङ विभागका सहायक प्राध्यापक कृष्ण विक्रम शाह तथा भायोनेट कम्युनिकेशनकी कर्पोरेट सेल्स मेनेजर रञ्जु लामा ले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार नेपाल इन्जिनियरिङ कलेज मा अध्ययनरत विद्यार्थीहरूको सीप विकास, उद्योगसँगको सम्पर्क विस्तार तथा रोजगारीका अवसर वृद्धि गर्ने लक्ष्य राखिएको छ । यसअन्तर्गत विद्यार्थीहरूको सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउन विशेष तालिम सञ्चालन गर्ने, दूरसञ्चार तथा आइटी क्षेत्रमा करियर प्लेसमेन्टको व्यवस्था गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी ले भायोनेटसँगको सहकार्यले शिक्षा र उद्योगबीचको दूरी कम गर्नुका साथै अन्तर्राष्ट्रियस्तरको शिक्षण अनुभव र भविष्यका लागि दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पोखरा विश्वविद्यालय को सम्बन्धनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज मा इन्जिनियरिङका विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययन हुँदै आएको छ ।
