काठमाडौँ, वैशाख १३ — ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज (EEC) को आयोजनामा ‘Civil Engineering Innovations & Sustainable Development (CEISD–2026)’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलन नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेज (NASC), जावलाखेलमा आयोजना गरिएको हो।
सिभिल इन्जिनियरिङ क्षेत्रमा नवप्रवर्तन, दिगो विकास तथा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरूलाई एकै मञ्चमा ल्याएको थियो।
सम्मेलनको उद्घाटन सत्र बिहान ९:०० बजे सुरु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालय का उपकुलपति प्रा. डा. बेदराज केसी ले दिगो पूर्वाधार विकास, अनुसन्धान–आधारित शिक्षा र नवप्रवर्तनलाई सशक्त बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले ज्ञान आदानप्रदान, अनुसन्धान सहकार्य तथा प्राविधिक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
उद्घाटन सत्रसँगै सञ्चालन भएका प्राविधिक सत्रहरूमा विभिन्न देशका विशेषज्ञ वक्ताहरूले सिभिल इन्जिनियरिङका समसामयिक चुनौती, प्रविधिगत रूपान्तरण तथा दिगो विकासका विषयमा प्रस्तुतीकरण गरेका थिए। सह–प्राचार्य एसोसिएट प्रोफेसर इन्जिनियर राजन लामा का अनुसार सम्मेलनमा अष्ट्रेलिया, जर्मनी, नेपाल, भारत, संयुक्त अरब इमिरेट्स र जापानबाट ४० भन्दा बढी अनुसन्धान पत्र प्रस्तुत गरिएका थिए।
दिउँसो सञ्चालन भएका थिम–आधारित समानान्तर सत्रहरूमा चार प्रमुख विषयहरूमा केन्द्रित छलफल गरिएको थियो—स्मार्ट, दिगो तथा लचिलो पूर्वाधार; भू–प्राविधिक तथा भूमिगत यातायात प्रणालीमा नवप्रवर्तन; जलविद्युत् तथा जलवायु–मैत्री पूर्वाधार; र एकीकृत पानी, सरसफाइ तथा वातावरणीय प्रणाली। सहभागीहरूले आफ्ना अनुसन्धान प्रस्तुत गर्दै विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाएका थिए।
सम्मेलनमा उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्य सुदृढ बनाउन विभिन्न कम्पनीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। टाइटल/गोल्ड स्पोन्सरका रूपमा समनन्तर ग्रुपसहित अन्य निर्माण, कन्सल्टिङ तथा इन्जिनियरिङ संस्थाहरूले सहयोग गरेका थिए।
साँझ ५:०० बजेबाट सुरु भएको समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सम्मेलनले ज्ञान आदानप्रदान, अनुसन्धान विस्तार तथा व्यावसायिक नेटवर्क सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
