काठमाडौं, चैत ३ — ललितपुरको प्रयागपोखरीस्थित नेपाल इन्जिनियरिङ कलेजमा “संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य: मानव–पर्यावरण अन्तरसम्बन्ध” विषयक सातौँ वार्षिक फिल्ड कोर्स सोमबारदेखि सुरु भएको छ। पाँच दिने उक्त कोर्समा देशभरका विद्यार्थी, अनुसन्धानकर्ता तथा संरक्षण क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदप्रसाद ढकालले गरेका हुन्। उद्घाटन सत्रको अध्यक्षता कलेजको सेन्टर फर प्रोफेशनल स्टडिजका निर्देशक रोबर्ट डंगोलले गरेका थिए। कार्यक्रममा अमेरिकास्थित युनिभर्सिटी अफ वासिङ्टनका प्राध्यापक डा. र्यान्डल सी. काइज र प्रा. म्याथ्यू नोभाक विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
उद्घाटन समारोहमा परम्परागत पानसमा बत्ती बालेर कोर्सको औपचारिक सुरुवात गरिएको थियो। कार्यक्रमको संयोजन तथा सञ्चालन नेपाल इन्जिनियरिङ कलेजका एमएस्सी नेचुरल रिसोर्स म्यानेजमेन्ट कार्यक्रमका संयोजक डा. नारायणप्रसाद कोजुले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा युवा पुस्ताको सक्रिय भूमिका अपरिहार्य रहेको बताए। उनले विभागले विद्यार्थी तथा अनुसन्धानकर्तालाई राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न निरन्तर प्रोत्साहन दिँदै आएको उल्लेख गरे।
त्यसैगरी, प्रा. डा. र्यान्डल काइजले नेपाली विद्यार्थीहरूसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै संरक्षण क्षेत्रमा देखिएको उत्साह र प्रतिबद्धताको प्रशंसा गरे। प्रा. म्याथ्यू नोभाकले पनि नेपाली संस्थासँग दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष रोबर्ट डंगोलले विगत सात वर्षदेखि यस्ता फिल्ड कोर्समार्फत विद्यार्थीहरूलाई व्यावहारिक अध्ययनको अवसर प्रदान गर्दै आएको जानकारी दिए। उनले सहभागीहरूलाई प्राप्त ज्ञानलाई दिगो विकास तथा जैविक विविधता संरक्षणमा प्रयोग गर्न आग्रह गरे।
आयोजकका अनुसार नेपालका सात विभिन्न संस्थाबाट २० जना सहभागीहरूले कोर्समा भाग लिइरहेका छन्। नेपाल इन्जिनियरिङ कलेज र युनिभर्सिटी अफ वासिङ्टनको संयुक्त आयोजनामा सेन्टर फर ग्लोबल फिल्ड स्टडी (CGFS) तथा वासिङ्टन नेशनल बायोमेडिकल रिसर्च सेन्टरमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ।
चैत २ देखि वैशाख ६ सम्म सञ्चालन हुने उक्त कोर्समा संरक्षण जीवविज्ञान, वन्यजन्तु अनुसन्धान विधि, विश्व स्वास्थ्यसम्बन्धी मुद्दा तथा मानव–पर्यावरण अन्तरसम्बन्धका विषयमा केन्द्रित कार्यक्रमहरू समावेश गरिएको छ। तालिममार्फत सहभागीहरूलाई व्यवहारिक फिल्ड अनुसन्धान अनुभव प्रदान गर्दै जैविक विविधता संरक्षण तथा वातावरण र मानव स्वास्थ्यबीचको सम्बन्धबारे गहिरो समझ विकास गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
