Home > कृषि > म्याग्दीका सुन्तला बगैचामा औँसा कीराको प्रकोप कृषि प्राविधिकहरुद्धारा निरिक्षण सुरु

म्याग्दीका सुन्तला बगैचामा औँसा कीराको प्रकोप कृषि प्राविधिकहरुद्धारा निरिक्षण सुरु

२० मंसिर। म्याग्दीका सुन्तला बगैचामा फैलिएको औँसा कीराको प्रकोपको निरिक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरिक्षण सुरु गरेको छ । कार्यालयका कृषि प्राविधिकहरुको टोलीलाई परिचालन गरि औँसा कीराको प्रकोपको अबस्थाबारे अध्ययन गर्न लागिएको हो ।

म्याग्दीका सुन्तलामा औँसा कीराको प्रकोपले पाक्ने समयमा बोटका पँहेला भएका सुन्तला झर्ने समस्या धेरै बढेको छ ।म्याग्दी जिल्लाको बेनी नगरपालिका, रघुगंगा, अन्नपुर्ण, मंगला, मालिका र धवलागिरि गाउँपालिकामा यस बर्ष विक्रि हुने समयमा सुन्तलामा औँसा कीराको प्रकोप देखिएको हो ।

कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा सुन्तला बगैचाहरुमा औसा किराको प्रकोप बढेपछि कृषकहरुको बगैचामै पुगेर रोकथामको लागि कृषकहरुलाई सल्लाह दिने र वास्तविक अबस्थाको तथ्याङ्क लिने र अबस्था बुझ्न थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले अन्लाइओन खबरलाइ जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कृषकहरुलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न समेत आग्रह गरिएको र कार्यालयको तर्फबाट आबश्यक पर्ने प्लाष्टिक झोला निशुल्क उपलब्ध गराईएको बताउनु भएको छ ।

झरेका फलहरुबाट अन्य बोटमा समेत औँसाका किराहरु फैलने भएकाले कार्यालयले झरेका फलहरुलाई छिटोभन्दा छिटो व्यवस्थापन गर्न अनुरोध गरको छ । जमिनको सतहबाट १ फुट गहिरो खाडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने कृषि विज्ञहरुको भनाई छ । कार्यालयले स्थलगत रुपमा कृषकका बगैँचामा पुगेर प्रकोपको अध्ययन र निरिक्षण गरेको र फल टिपीसकेपछि रोकथामका लागि आबश्यक कदम चाल्ने योजना बनाएको जनाईएको छ । तत्काललाई औँसा लागेर झरेका फललाई व्यवस्थापन गर्ने र आगामी बैशाख, जेठ, असारमा वयस्क झिंगा व्यवस्थापनका लागि प्रोटिन बेटमा आधारित क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सुन्तलाको व्यवसायिकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याईएको भएपनि रोक र संक्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको कृषकहरुको गुनासो छ । जिल्लाको ६ वटै स्थानीय तहको ७ सय ६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । गत बर्ष २ हजार ४ सय १२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत बर्ष समेत सुन्तलामा लागेको औसाको प्रकोप यस बर्ष थप बढेको छ । पाक्न लागेका सुन्तला झर्न थालेपछि यस बर्ष जिल्लामा ३० देखि ४० प्रतिशतसम्म सुन्तला उत्पादनमा गिरावट आउने अनुमान समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *