नेपालगञ्ज, मंसिर ११। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, लग्दहवास्थित देउतादिन माध्यमिक विद्यालयमा १०० जना महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण गरिएको छ।
लग्दहवामा बसोबास गर्ने महिला तथा किशोरीहरूलाई महिनावारीका समयमा आवश्यक पर्ने स्वास्थ्य तथा सरसफाइ सामग्रीसहित पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड समावेश भएको फ्रिडम किट ब्याग प्रदान गरिएको हो।
एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालित नेपालमा महिनावारी स्वच्छता प्रवर्द्धन परियोजनाअन्तर्गत उक्त सामग्री वितरण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी वडा नं. १८ का कार्यवाहक अध्यक्ष बलिराम रैदासले महिलाहरूका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिएकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा वडा कार्यालयबाट समेत समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, देउतादिन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बब्लु वर्माले कार्यक्रम प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन समन्वय र सहकार्य गर्ने बताए। उनले महिलाहरूको स्वास्थ्य तथा महिनावारी स्वच्छताका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी हुने धारणा राखे।
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व अध्यक्ष रमेश सिटौला, बास नेपाल बाँके शाखाका केन्द्रीय सदस्य बसन्ती शर्मा रोकाया, पूर्व शाखा अध्यक्ष कमला पोख्रेल, सदस्य टिना रावत, पत्रकार सावित्रा गिरीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य बास नेपाल बाँके शाखाकी पूर्व अध्यक्ष कमला पोख्रेलले राखेकी थिइन् भने कार्यक्रमको उद्देश्यबारे बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए। कार्यक्रम सञ्चालन बास नेपालका निवर्तमान अध्यक्ष शोभा थापामगरले गरेकी थिइन्।
कार्यक्रममा प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मीना घर्ती मगरले महिनावारी शिक्षासम्बन्धी प्रशिक्षण दिएका थिए। प्रशिक्षण तथा छलफलमा महिनावारी स्वच्छता, प्रजनन स्वास्थ्य, सुरक्षित महिनावारी व्यवस्थापन, वातावरण संरक्षण, महिनावारीजन्य फोहोर व्यवस्थापन तथा त्यसको वातावरणीय प्रभाव, पुनः प्रयोग गर्न मिल्ने प्याडको महत्व, महिनावारीसम्बन्धी परम्परागत धारणा, अन्धविश्वास, सामाजिक लाञ्छना, छुवाछुत तथा महिला सशक्तीकरणका विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो।
महिलामाथि हुने हिंसा अन्त्यका लागि सञ्चालन भइरहेको १६ दिने अभियानको सन्दर्भमा आयोजित कार्यक्रमले महिनावारीका आधारमा हुने विभेद, छुवाछुत, लाञ्छना तथा सामाजिक निषेध अन्त्य गर्न महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ। महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई लाज, भेदभाव वा अपमानको विषय नभई स्वास्थ्य, सम्मान र अधिकारसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको थियो।
फ्रिडम किट ब्याग प्राप्त गरेपछि सहभागी महिला तथा किशोरीहरूले खुसी व्यक्त गर्दै महिनावारी स्वच्छता कायम गर्न पुनः प्रयोग गर्न मिल्ने प्याडसहितको सामग्री उपयोगी रहेको प्रतिक्रिया दिएका थिए।
