काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज पहिलो दिन काग तिहार मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी विभिन्न परिकार तथा मीठा खानेकुरा खुवाएर यो पर्व मनाउने परम्परा छ।
हिन्दू धर्मशास्त्रअनुसार कागलाई यमराजको दूत अर्थात् सन्देशवाहकका रूपमा लिने गरिन्छ। कागले यमराजसमक्ष पृथ्वीका गतिविधिबारे सूचना पुर्याउने धार्मिक विश्वास रहेकाले यस दिन कागको पूजा गरी भोजन अर्पण गर्ने चलन रहिआएको छ।
नेपाली समाजमा काग घरको छत, आँगन वा वरपर आएर कराउँदा कुनै खबर आउने सङ्केतका रूपमा बुझ्ने परम्परासमेत छ। कागले अशुभ नभई शुभ समाचार ल्याओस् भन्ने कामनासहित उसलाई मीठा खानेकुरा दिने गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयको समयमा त्रयोदशी तिथि रहेकाले आज काग तिहार मनाउने निर्णय गरिएको हो। तिथिको घटबढका कारण यस वर्ष यमपञ्चक भने शुक्रबार साँझदेखि नै प्रारम्भ भएको छ।
काग तिहारका दिन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ मा अवस्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआजा गर्ने परम्परा छ। त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि धार्मिक विधिअनुसार पूजा गरिन्छ।
तिहारको धार्मिक परम्परामा यमराजको पूजा तथा यमदीपदानको पनि विशेष महत्त्व छ। परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र यमयातनाबाट मुक्ति मिलोस् भन्ने कामनासहित दक्षिण दिशातर्फ फर्काएर दीपदान गर्ने चलन छ।
यस वर्ष तिथिको घटबढका कारण धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको थियो। धनतेरसका अवसरमा सुनचाँदीका गरगहना तथा तामालगायतका धातुका भाँडाकुँडा खरिद गर्दा घरमा सुख, समृद्धि र लक्ष्मीको स्थायी बास हुने धार्मिक विश्वास रहिआएको छ।
काग तिहारसँगै सुरु भएको यमपञ्चकमा परम्पराअनुसार क्रमशः कुकुर तिहार, लक्ष्मीपूजा, गाई तिहार र भाइटीका मनाइन्छ। पाँच दिनसम्म मनाइने यस पर्वले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक आत्मीयता र सांस्कृतिक एकताको सन्देशसमेत बोकेको छ।
