मीनबहादुर गुरुङको प्रस्ताव एमालेद्वारा फिर्ता, बल्खुमै आफ्नै भवन बनाउने निर्णय
काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले पार्टीलाई उपलब्ध गराउने भनिएको कलंकीस्थित जग्गा तथा भवनको प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने निर्णय गरेको हो ।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार गुरुङ दम्पत्तीले कलंकीमा जग्गासहित भवन निर्माण गरिदिने प्रस्ताव गर्नुभएको थियो । तर, पार्टीले अब आफ्नै स्वामित्वमा रहेको बल्खुस्थित जग्गामै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको जनाएको छ ।
एमालेले गुरुङ दम्पत्तीप्रति सहयोगको भावनाका लागि धन्यवाद व्यक्त गर्दै पार्टीको दीर्घकालीन योजना र स्वामित्वलाई ध्यानमा राखेर बल्खुमै भवन निर्माण गर्ने निष्कर्षमा पुगेको बताएको छ ।
सचिवालय बैठकले पार्टीको संरचना व्यवस्थापन, भौतिक पूर्वाधार विकास तथा संगठन विस्तारका विषयमा समेत छलफल गरेको जनाइएको छ ।
