काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण मङ्सिर ९ गतेदेखि रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।
नेपाली सेनाका अनुसार उक्त अभ्यासमा दुवै देशका सैनिकहरूले विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक तालिम सञ्चालन गर्नुका साथै अनुभव आदानप्रदान गर्नेछन्।
संयुक्त अभ्यासका क्रममा दुवै देशका सैनिकहरूले आ–आफ्ना व्यावसायिक ज्ञान, सीप तथा अनुभव साटासाट गर्नेछन्। यसले विपद् व्यवस्थापन तथा संयुक्त सैन्य कार्य सञ्चालनमा दुवै सेनाको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीचको सैनिक सम्बन्ध, आपसी विश्वास तथा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको यस अभ्यासलाई दुवै देशका सेनाबीचको महत्वपूर्ण संयुक्त सैनिक कार्यक्रमका रूपमा लिइन्छ।
