वीरगञ्ज ।मधेशी दल तथा नेताहरूको कार्यसम्पादनबारे जनताले पछिल्लो निर्वाचनबाटै आफ्नो धारणा व्यक्त गरिसकेको भन्दै अब मधेशको राजनीतिक नेतृत्व नयाँ युवा पुस्ताले लिनुपर्नेमा वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्।
सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानद्वारा ‘जबसम्म सूर्य र चन्द्रमा यो धर्तीमा रहिरहन्छन्, सहिदको त्याग, तपस्या र बलिदान अमर रहिरहनेछ’ भन्ने मूल नाराका साथ ‘मधेश : अबको बाटो–मधेशी राजनीतिको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
वीरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न प्रतिष्ठानको दशौँ शृङ्खलाको कार्यक्रम सहिद सोहन साह कलवारकी पत्नी विनीता देवीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा मधेशको वर्तमान राजनीतिक अवस्था, पहिचान, अधिकार, नेतृत्व र सहिदहरूको योगदानलगायत विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा अधिवक्ता आनन्द गुप्ताले विषय प्रवेश गराउँदै जेनजी आन्दोलनपछि मधेशी दल तथा नेताहरूप्रतिको जनविश्वासमा कमी आएको बताए। मधेशका आधारभूत मुद्दाहरू अझै सम्बोधन हुन नसकेको उल्लेख गर्दै ती मुद्दा स्थापित गराउन राज्यलाई दबाब दिने प्रभावकारी रणनीति आवश्यक रहेको उनको भनाइ थियो।
उनले विगतमा मधेशको राजनीति कहाँ चुकेको छ भन्ने विषयमा गम्भीर समीक्षा गरी आगामी राजनीतिक दिशा तय गर्नुपर्नेमा जोड दिए।
छलफलमा सहभागी वक्ताहरूले पुरानै राजनीतिक शैली र नेतृत्वबाट मधेशका अपेक्षा तथा अधिकारका सवाल पूर्ण रूपमा सम्बोधन हुन नसक्ने धारणा राखे। पछिल्लो निर्वाचनले मधेशी दल र नेताहरूको कार्यसम्पादनबारे जनताको धारणा स्पष्ट पारेको उल्लेख गर्दै अब युवा पुस्ताले नेतृत्व लिएर सामाजिक तथा राजनीतिक मुद्दालाई समेट्ने स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्ने उनीहरूको निष्कर्ष थियो।
कार्यक्रममा पूर्वसांसदद्वय प्रह्लाद गिरी र बिक्की यादव, अर्थशास्त्री प्राध्यापक इन्दुशेखर मिश्र, प्रा. डा. हरेराम ठाकुर, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वप्रमुखद्वय ए.के. झा र डा. उमेश चौरसिया, प्राध्यापक विजय महासेठ, नेतृ रम्भा मिश्रा, मोनिका सिंह, निजामुद्दिन समानी, शिव पटेल, पूर्वउपप्रमुख सलमा खातुन, पूर्वप्रहरी उपरीक्षक रामेश्वर यादव तथा पूर्वप्रहरी महानिरीक्षक हरिबाबु चौधरीलगायतले आ–आफ्ना धारणा राखेका थिए।
त्यसैगरी रामनारायण मिश्र, पत्रकार पवन तिवारी, डा. आमिर आलम, राजेश कुमार साह, शिवजी सोनी, कानुनकी विद्यार्थी अदिती साह, पत्रकार अफरोज अर्पण र ओमप्रकाश चौधरीसहित तीन दर्जनभन्दा बढी युवा, बुद्धिजीवी तथा विभिन्न पेसाकर्मीको सहभागिता थियो।
वक्ताहरूले मधेशको राजनीतिक पहिचान, सामाजिक अपेक्षा, संस्कार, संस्कृति तथा हक–अधिकार स्थापित गर्न सहिदहरूको योगदानलाई उचित सम्मान र पहिचान दिनुपर्ने बताए। मधेश अधिकारका लागि भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका व्यक्तिहरूको इतिहास र बलिदानलाई संस्थागत रूपमा अभिलेखीकरण गर्नुपर्नेमा पनि उनीहरूले जोड दिए।
सहिदहरूको योगदानलाई स्मरणमा मात्र सीमित नराखी उनीहरूले देखेका सपना, उद्देश्य र अधिकार प्राप्तिको अभियानलाई व्यवहारमा उतार्नुपर्ने वक्ताहरूको भनाइ थियो। मधेशले हालसम्म प्राप्त गरेका उपलब्धिको संरक्षण गर्दै विद्यमान चुनौती र सम्भावनाका आधारमा नयाँ राजनीतिक कार्यदिशा तय गर्नुपर्नेमा समेत उनीहरूले जोड दिए।
कार्यक्रमले मधेशको राजनीतिक यात्राको समीक्षा गर्दै सहिदहरूको त्याग र बलिदानको इतिहास नयाँ पुस्तासम्म पुर्याउन तथा मधेशको पहिचान र अधिकारको सवाललाई थप सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको प्रतिष्ठानका संरक्षक सञ्जय यादवले जानकारी दिए।
तस्बिर/स्रोत : सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठान
