काठमाडौं – संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्म ‘सतिदेवी’बारे चासो लिँदै मुलुकमा यस्ता खालका मौलिक र यथार्थपरक फिल्म बन्नुपर्ने बताएकी छन् । मन्त्री शर्मा र फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीबीच फिल्मलाई लिएर मन्त्रालयमा कुराकानी भएको थियो ।
भेटबारे जानकारी दिँदै निर्देशक सुवेदीले घरेलु फिल्मको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथावस्तुमा फिल्म बन्नुपर्ने कुरामा मन्त्रीले जोड दिएको बताए । मन्त्री शर्माले यो फिल्म नारीप्रधान र मौलिक कथामा बनेको सुनेर आफू हेर्न उत्साहित भएको समेत बताएकी थिइन् ।
फिल्म अभिव्यक्तिको बलियो माध्यम भएकाले मुलुकको कला, भाषा, संस्कृतिको विकास र प्रवद्र्धनमा यसले प्रभावकारी भूमिका निर्वाह गर्ने र यसतर्फ फिल्मकर्मी लाग्नुपर्ने उनको धारणा थियो । मन्त्रीले आफ्नो फिल्मप्रति देखाएको अभिरुचिप्रति आफू उत्साहित रहेको सुवेदीले बताए ।