काम गरेर पढ्ने अवस्था र अवसर भएका विद्यार्थीहरूका लागि डिग्री हासिल गर्न कोर्षले टेवा दिएको भन्दै डा. शाहीले नेपालको विकासका लागि कोर्षको योगदान रहने बताए । ब्याचलर गरेकाहरूलाई मास्टर्स गर्न समेत सुझाउँदै मुलुकको विकासका लागि बिहान, दिउसो र बेलुका गरी ३ सिफ्टमा पढाई हुनुपर्ने बताए । ‘देशको विकास गर्न अब ३ सिफ्टमा पढाउनु पर्छ । काम गर्दै पढ्ने वातावरण हुनुपर्छ ।’ पढिसकेकाले पनि आफूलाई सदैव अपडेट राख्नुपर्ने भन्दै उनले भने ।
कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले डिप्लोमा होल्डर्सहरुलाई सम्बोधन गर्न तयार पारिएको बिडिएच कार्यक्रम दक्ष जनशक्ति उत्पादनमा टेवा दिएको बताए । कलेजले बिडिएच कार्यक्रमलाई अझै विद्यार्थी माझ पुर्याउन नसकिरहेको अवस्थामा कलेजबाट पास आउट भएका विद्यार्थीहरूले अब ब्राण्ड एम्बेसडरको काम गर्नुपर्ने बताए । साँढे चार वर्षको कोर्षलाई परिमार्जन गरी ४ वर्षको बनाउन पोखरा विश्वविद्यालय सकारात्मक रहेकोले काम गर्दै पढ्ने विद्यार्थीका लागि यो कोर्ष अत्यन्त प्रभावकारी भएको जिकिर गरे ।
बिदाई कार्यक्रममा कलेजका बिडिएच विभागका विभागीय प्रमुख निश्वान ढकाल, पूर्व कार्यक्रम संयोजक रवीन्द्र बुढाथोकीले समेत बिडिएच कार्यक्रमको महत्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा विद्यार्थीहरू भाग्यश्री महर्जन, दिनेश काफ्ले, सुरेन्द्र सिंह महरा, ज्ञानमान श्रेष्ठलाई चेयरमेन अवार्ड दिइयो भने, अन्य विद्यार्थीहरूलाई पनि सेमेस्टर अवार्ड प्रदान गरिएको थियो ।
विश्वविद्यालय भन्दा अगाडि कलेज
पोखरा विश्वविद्यालयले भन्दा अगाडि नेपाल इन्जिनियरिङ कलेजले सुरु गरेको विषय हो बिडिएच । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालको पहलमा नेपालमा पहिलो पटक सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सबइन्जिनियरहरूको लागि नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन संस्थापक अध्यक्ष स्व.प्रा.डा. दीपक भट्टराई, कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र प्रा.डा. राजेन्द्र प्रसाद अधिकारीले विश्वविद्यालयसँग समन्वय गरि सन् २००१ देखि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम सञ्चालन गरेका थिए ।
नौं सेमेस्टरको बिडिएच अन्य कार्यक्रम भन्दा एक सेमेस्टर लामो छ । स्नातक तहका अन्य कोर्ष चार वर्षको हुँदा यो कोर्ष पुरा गर्न साढे ४ वर्ष लाग्छ । तथापि, पाेखरा विश्वविद्यालय याे काेर्ष परिमार्जन गर्न सकारात्मक देखिएकाे छ । बिडिएच कार्यक्रम सञ्चालनमा आएपछि सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सयौं सिभिल तथा आर्किटेक्चर सबइन्जिनियरहरू सिभिल इन्जिनियर भइसकेका छन् ।