Home > मुख्य समाचार > दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेको कविता यात्रा– २०८० को अन्तिम दिन – मुरारी सिग्देल

दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेको कविता यात्रा– २०८० को अन्तिम दिन – मुरारी सिग्देल

साहित्यिक पत्रकार संघले दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेको ‘ तीनदिवसीय कविता यात्रा– २०८०’ पौष ६ गते शुक्रवार सम्पन्न भएको छ ।
काठमाडौँबाट गएका स्रष्टाहरूलाई पन्चेबाजाले स्वागत गरी कार्यक्रमस्थल लगिएको थियो ।
शैलुङको भैँसे बजारस्थित शारदा माविको प्राङ्गणमा विभिन्न कविहरूले कविता वाचन गरेर कार्यक्रमको समापन गरेका हुन् ।
कविता यात्रा– २०८० को लागि कवि तथा लेखकहरू पौष ४ गते बुधवार नै शैलुङ पुगेका थिए ।
साहित्यिक पत्रकार संघले कविता यात्रा यो पटक दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८, एसएस फाउण्डेशन काठमाडौँ र समाजसेवी शोभित उप्रेतीको आर्थिक सहयोगमा दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेकोे संघका अध्यक्ष राधेश्याम लेकालीले बताए ।
कविता यात्रा– २०८० को अन्तिम दिन प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र शैलुङ गाँउपालिका वडा नम्बर– ८ का वडा अध्यक्ष धनबहादुर तमाङको सभापतित्वमा सम्पन्न कविता वाचन कार्यक्रममा कवि मुरारि सिग्देल, राधेश्याम लेकाली, श्रीबाबु कार्की, प्रध्युम्न जोशी, नीता श्रेष्ठ, रुद्र अधिकारी, विनोद नेपाल, नरेन्द्रबहादुर श्रेष्ठ, डा बुनु दाहाल, सुभाषचन्द्र पौडेल ‘भीमफेदिया’, रितु कँडेल, नन्दु उप्रेती, नरहरि प्रेमी, प्रा डा गोविन्दसिंह कार्की र स्थानीय स्कूलका कवि सुजित काफ्ले, सविना भण्डारी, मनिषा कार्की, रेखा अधिकारी, सविना थापा, शिव बुढाथोकी लगायतका कविहरूले कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा एसएस फाउण्डेशनका अध्यक्ष मदनदास श्रेष्ठ, शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती थापा, शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलाल, शैलुङ गाउँपालिका वडा नम्बर– ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, एसएस फाउण्डेशन दोलखाका संयोजक नवराज खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दोस्रो चरणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। सांस्कृतिक कार्यक्रममा बालकलाकार रन्जना थपलियाको नृत्य ,गायिका रितु कँडेल, गायक संगीतकार नरहरि प्रेमीको गीत र गायक नवीन पौडेलको गीतले शैलुङ् उचालिएको थियो । कार्यक्रममा दायित्वका सम्पादक रामप्रसाद पन्त र पत्रकार पुष्पा थपलियाको सक्रिय सहभागिता रहेको थियो ।
शुक्रवार नै समाजसेवी शोभित उप्रेतीले प्रदान गर्नुभएको शैलुङ गाँउपालिका वडा नम्बर– ८ कालापानीमा रहेको जग्गामा स्रष्टा घर निर्माणको लागि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले शिलान्यास गर्नु भएको थियो ।
स्रष्टाघर निर्माणपछि लेखकहरू शैलुङ भ्रमणसँगै स्रष्टाघरमा केही दिन बसेर विभिन्न रचना लेखन गर्न सक्ने र यसले शैलुङको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने समाजसेवी शोभित उप्रेतीले बताएका छन् ।
२०३९ सालमा स्थापना भएको साहित्यिक पत्रकार संघले २०४० सालबाट कविता यात्रा कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष लेकालीले बताए ।
दोलखाकै पर्यटकीय केन्द्र जिरीमा २०४२ सालमा कविता यात्रा आयोजना गरिसकिएको अध्यक्ष लेकालीले बताए ।
साहित्यकारले देशको परिस्थिति, नागरिकको अवस्थिति, प्राकृतिक सुन्दरता, जनजीवन जस्ता सबै विषयको प्रत्यक्ष अनुभव गर्न सकेको अवस्थामा अझ उत्कृष्ट रचना आउनसक्ने विश्वास सहित साहित्यिक पत्रकार संघले साहित्यकारहरूलाई देशको विभिन्न ठाउँमा पुर्याउन कविता यात्राको शुरुआत गरेको लेकालीले जानकारी दिए । संघले शैलुङको यात्रा संस्मरण समेटेर पुस्तक समेत प्रकाशन गर्ने कुरा अध्यक्ष लेकालीले घोषणा गरे ।
यसैगरी अघिल्लो दिन ५ गते कविता यात्राक्रममा शैलुङको उच्च थुम्कोबाट गौरीशंकर हिमाललगायत असंख्य हिम चुचुराको दृश्यावलोकनसहित कविता यात्रा र बालकलाकार रन्जना थपलियाले ” माथि माथि शैलुङ्गेमा” गीतको बोलमा नृत्य प्रस्तुत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *