काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरुको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरुप भएको बताएकी छिन् । शुक्रवार राष्ट्रपति निवास शितल निवासमा आयाजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली समाजको विविधतालाई लोक संस्कृति, गीत र सङ्गीतले एक ढिक्का बनाउन सघाएको धारणा व्यक्त गरिन् । ‘नेपालको भौगोलिक विविधताको प्रतिनिधित्व स्वरुप बसोबास गर्ने जातिका आफ्नै मौलिक भाषा, संस्कृति, गीत र सङ्गीत रहेको छ’ उनले भनिन्- ‘नेपाली मौलिक गीत सङ्गीतको जगपुस्ताका रुपमा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ अग्रणी रहनु भएको छ ।’
कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिनन् । उक्त अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको थियो । एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८’ प्रदान गरियो ।
उक्त समारोहमा झण्डै तिन दशकम देखीको अविराम सांगितीक यात्रा तयगरेका गायक तथा संगीतकार कन्हैयासिंह परियारलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको छ । सम्मान ग्रहण गर्दै गर्दा परियारले दिवंगत भइसकेका आफ्ना मातापितालाई सम्झदै उक्त सम्मानलाई स्वर्गीय बुबा गोपालसिंह परियार र आमा टिकामाई देवी प्रति समर्पण गरेका छन् । साथै संगीत क्षेत्रको विशिष्ठ मानिने नातीकाजि सम्मान तथा पुरस्कार कमिटि प्रति समेत हार्दिक आभार समेत प्रकट गरेका छन् ।
समारोहमा देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ प्रदान गरियो भने कार्यक्रममा सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ र रविन कार्कीढलीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ दिइयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार निवासमा आयजित एक कार्यक्रममा नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार पञ्दान गरेकी छिन् । समारोहमा पत्रकार कुबेर गिरी तथा डब्बु क्षेत्रीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार दिइयो । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको रहेको चर्चा गरे ।