काठमाडौं – व्याकुल माइलाले लेख्नु भएको ‘ओखलढुङ्गा सुन्दर’ गीत सार्वजनिक भएको छ । युगकवि सिद्धिचरण श्रेष्ठले ‘मेरो प्यारो ओखलढुंगा’ बोलको गीतले ओखलढुंगालाई देशभर चिनाउन सफलता मिलेको थियो । अहिले फेरि जिल्लाको समग्र भौगोलिक तथा सांस्कृतिक पक्षलाई उजागर गर्ने गरी व्याकुल माइलाले ‘ओखलढुङ्गा सुन्दर’ गीत आएको छ । लेखकका अनुसार यसबाट ओखलढुङ्गा जिल्लाको पर्यटन प्रबर्धन हुन सकोस् भन्ने शुभेच्छा राखिएको छ ।
कुवेर राई, विष्णु अधिकारी,कला राई, कविता खत्री निशा देशार लगायतका कलाकारहरुको सुमधुर आवजमा सजिएको गीतमा संगीत संयोजन विष्णु अधिकारीको रहेको छ । व्याकुल माइला प्रतिष्ठानको प्रस्तुती रहेको उक्त गीतको भिडियोलाई जेनेक्स मिडिया नेपालको युटुव मार्फत सार्वजनिक गरिएको छ ।
गीतका बारेमा लेखक माइलाको विचार यस्तो छ– करिब ३ वर्षअघि ओखलढुङ्गा जिल्लामा जन्मी सानैदेखि काठमाडौं बसोवास गर्नुभएका गायिका बहिनी कविता खत्रीले आफ्नो जन्मभूमि ओखलढुङ्गा जिल्लाको सम्झना हुने एउटा गीत लेखिमाग्नु भयो । गीत सङ्गीतकार विष्णु अधिकारीलाई सङ्गीतबद्ध गराएँ । सङ्गीत संयोजन पनि भयो । मैतीदेवीस्थित ओपल स्टुडियोमा बोलाएर बहिनीलाई श्रवण गराइयो । बहिनीलाई कस्तो भयो भनेर सोध्न नपाउँदै गीतको भाव र सङ्गीतले भावविभोर भएर रुनु भयो ।
मलाई योभन्दा खुशीको कुरा अरु थिएन । रेकर्डिङ्गका लागि बहिनीले गाउने अभ्यासको गीत कपी गरेर लिनुभयो । अपसोच उहाँ लोकगायिका हुनु हुँदोरहेछ । गीतको धुन आधुनिक थियो । उहाँको स्वरसँग तालमेल नमिलेपछि उहाँसमेतलाई समावेश गरेर सिद्धहस्त गायक÷गायिकाहरू कुबेर राई, विष्णु अधिकारी, कला राई र निशा देसारको स्वरमा रेकर्डिङ्ग गरियो ।
यस गीत गाउनु हुने मुख्य गायक कुबेर राई यतिखेर पक्षघातको कारण अस्पतालमा हुनुहुन्छ । यस गीतबाट व्यावसायिक लाभको आशा गरिएको छैन । आफ्नो जन्मभूमि ओखलढुङ्गाप्रतिको जिम्मेवारी पूरा गर्ने सानो प्रयास मात्र हो । यसबाट ओखलढुङ्गा जिल्लाको पर्यटन प्रबद्र्धन हुन सकोस् भन्ने शुभेच्छा राखिएको छ । यसको रेकर्डिङ्ग व्याकुल माइला प्रतिष्ठान, नेपालबाट गरिएको छ । यस कार्यका लागि प्रतिष्ठानलाई प्रदेश–१, पर्यटन तथा संस्कृति मन्त्रालयबाट अनुदान प्राप्त भएको छ । युगकवि सिद्धचरण श्रेष्ठले ओखलढुङ्गलाई चिरपरिचित गराइसक्नु भएको कुरा जगजाहेरै छ । यो पनि आजको ओखलढुङ्गालाई यस गीतको माध्यमबाट थप बुझ्न, हेर्न एवम् जान्न सकिन्छ । यसबाट पर्यटन प्रबर्धन गर्न मद्दत मिलोस् भन्ने हो ।