१९ कात्तिक, काठमाडौं / उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीले आज भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति निवास लाजिम्पाटमा भएको सो भेटका क्रममा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
उपराष्ट्रपति पुनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने कार्यमा आयोगले पूर्ण सफलता प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने युवाहरूले समेत मतदान गर्न पाउने गरी ‘कट-अफ-डेट’ तय गरेको र आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न जान नपाउने सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि प्रतिनिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको समेत व्यवस्था गरेकोमा आयोगको उच्च प्रशंसा गर्नुभयो ।
सो अवसरमा आयोगका आयुक्तहरु रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेलसमेतको सहभागिता रहेको थियो ।