जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन ।कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ । उनले दुई दशक अघिदेखि यो व्यवसायलाई अङ्गालेका हुन् । अहिले पनि निरन्तरता दिइराखेका छन्।
“पुराना च्यातिएका फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गरे”, उनले भने, “अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि सबैले प्रशंसा गर्न थालेका छन् ।” रामपुर ५ स्थित बेझाड बजारको एक कच्ची घरको सानो कोठामा सियो र धागोबाट सुरु गरेको व्यवसाय अहिले सटर भाडामा लिएर व्यवस्थित तरिकाले चलाएका छन् । विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउने कार्य सुरु गरेको अहिले यसबाटै राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।
काम सानो ठूलो भन्ने हुँदैन, हातमा सीप भयो भने जुत्ता चप्पल सिलाएर लाखौँ कमाउन सकिने उनको अनुभव छ । बिहानदेखि राति अबेरसम्म पसलमा जुत्ता चप्पल सिलाएरै समय बितिरहेको छ । व्यवसाय फष्टाउँदै जाँदा हाल दुई जनालाई रोजगारी दिएका छन् ।
यसै व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा, परिवारको खर्च सजिलै धान्दै आइरहेको उनको भनाइ छ । दुई जनालाई मासिक तलब, घरपरिवारको गुजारा सबै खर्च कटाएर मासिक रु ५० हजार बढी आम्दानी गर्न सफल भएको उनले बताए। काममा इमान्दारिता र मेहनत गरियो भने पैसा कमाउन दुःख छैन । विवाह, पार्टी, स्कुल, कलेजका जुत्ता आफैले तयार पार्छन् । दैनिकजसो ५० भन्दा बढी ग्राहक पसलमा सेवा लिन पुग्छन् । सानो लगानीमा परिवारको साथमा रमाउन पाउँदा धेरै खुसीका साथ जीवन अगाडि बढेकोमा यस व्यवसायमा उनी गौरव गर्छन् ।