Home > मुख्य समाचार > राष्ट्रपतिद्वारा इद पर्वको शुभकामना

राष्ट्रपतिद्वारा इद पर्वको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् इद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा इद (इद उल फित्र)को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले पर्वले नेपालीहरू बीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

“इद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ”, सन्देशमा भनिएको छ, “इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै इदको अवसरमा मान्यजनबाट आशीर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्ब गर्दछ ।”

सन्देशमा विविधता नै नेपाली समाजको पहिचान र सामर्थ्यको रूपमा रहिआएको उल्लेख गर्दै भनिएको छ, “मुलुकमा रहेका अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ, संविधानको यस पवित्र भावनालाई आत्मसात् गरी नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।”

मुस्लिम समुदायले ईदउल फित्र मनाउँदै, देशभर सार्वजनिक विदा

आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *