Home > मुख्य समाचार > ओमिक्रोनका लक्षण, ज्वरो नआए पनि संक्रमण हुनसक्छ,ओमिक्रोन संक्रमितमा कस्ता लक्षण देखिन्छन्?

ओमिक्रोनका लक्षण, ज्वरो नआए पनि संक्रमण हुनसक्छ,ओमिक्रोन संक्रमितमा कस्ता लक्षण देखिन्छन्?

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलने क्रम तीव्र छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट समुदायमा फैलिसकेको छ। ओमिक्रोन छिटो फैलिने भएकाले धेरै मानिस संक्रमित भइरहेका छन्।

दक्षिण अफ्रिका, फ्रान्स, बेलायतको अवस्थालाई हेर्दा ओमिक्रोन एकदम छिटो गतिमा उत्कर्षमा पुगेको र त्यति नै छिटो तल झरेको देखिन्छ। दक्षिण अफ्रिकामा ओमिक्रोनको लहर लगभग कम भएको जस्तो देखिन्छ। चार/पाँच हप्ताको अवधिमा नै उत्कर्षमा पुगेर कम हुँदै गएको देखिन्छ।

ओमिक्रोन भेरियन्ट देखिएका देशको तथ्यांक हेर्ने हो भने त्यहाँ संक्रमितको संख्या बढिरहँदा मृत्युदर भने स्थिर छ। नेपालमा ओमिक्रोनको संक्रमण बढ्न थालेको धेरै भएको छैन। यसको संक्रमणलाई रोक्न सरकारको ध्यान जानुपर्छ। सर्वसाधारण पनि सचेत हुनुपर्छ।

स्वास्थ्य अवस्था कमजोर भएका, खोप नलगाएका व्यक्तिहरु अझै पनि समुदायमा छन्। उनीहरु जोखिम समूहमा पर्ने हुनाले बढी प्रभावित हुन सक्छन्। तर, अहिले संक्रमित बढे पनि अस्पताल भर्ना हुने बिरामीहरुको संख्या ह्वात्तै बढेको छैन। डेल्टा भेरियन्टले जस्तो भयावह स्थिति ओमिक्रोनले नल्याउला भन्ने मेरो अनुमान छ।

ओमिक्रोन संक्रमितमा कस्ता लक्षण देखिन्छन्?
विगतदेखि अहिलेसम्म कोरोनामा मात्र होइन, त्यसको लक्षणहरुमा पनि उतार-चढाव हुने क्रम जारी छ। कोरोना भाइरसको सुरुवाती समयतिर ज्वरो, खोकी र श्वास–प्रश्वासमा देखिने अवरोधलाई मुख्य लक्षण मानिन्थ्यो। पछि स्वाद र गन्ध थाहा नपाउने समस्याहरु पनि थपिएका थिए।

डेल्टाको लहरसम्म आइपुग्दा पनि यी तीन मुख्य लक्षणहरु निरन्तर देखिइरहेका थिए। तर, ओमिक्रोन भेरियन्ट फैलिँदै जाँदा भने यी तीन ‘क्लासिकल’ लक्षणहरु पछाडि पर्दै गएको विभिन्न अनुसन्धानहरुले देखाएका छन्।

हालै बीबीसीले बेलायतमा गरिएको सर्भेलाई आधार मान्दै कसैलाई रुघाखोकी देखिए, त्यो ओमिक्रोन संक्रमण पनि हुनसक्ने समाचार प्रेषित गरेको थियो। बेलायतमा मात्र होइन, ओमिक्रोन संक्रमण देखिएका अरु देशहरुमा पनि यस्तै लक्षण देखिएको विभिन्न अनुसन्धानहरुले देखाउँछन्।

बेलायतको जोए कोभिड अध्ययन समूह र किंग्स कलेज लण्डनले गरेको सर्भेका अनुसार ओमिक्रोन संक्रमितहरुमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, टाउको दुख्ने, अत्यधिक थकान हुने, हाच्छिउँ आउने तथा घाँटी दुख्नेजस्ता समस्या सबैभन्दा बढी देखिएको छ। दक्षिण अफ्रिकाका चिकित्सकहरुका अनुसार ओमिक्रोन संक्रमितहरुमा जिउ दुख्ने, छाती दुख्ने, ढाड तथा जोर्नी दुख्ने, घाँटी दुख्ने, थकित हुने जस्ता लक्षणहरु देखिन्छ। नेपालमा पनि संक्रमितलाई यस्तै लक्ष्यण देखिएको छ।

केही हप्ताअगाडि नर्वेमा भएको एक समारोहमा सम्मिलित सहभागीहरुबीच ओमिक्रोन भेरियन्ट फैलिएको थियो। एक अनुसन्धान लेखका अनुसार सो समारोहमा संक्रमित भएकाहरुमा खोकी लाग्ने, नाकबाट पानी आउने, नाक बन्द हुने, थकित हुने, घाँटी दुख्ने तथा टाउको दुख्ने जस्ता मुख्य लक्षण देखिएका थिए। तर, ज्वरो भने प्रमुख लक्षणमा थिएन। झन्डै ५० प्रतिशत संक्रमितलाई मात्र ज्वरो देखिएको थियो।

हालै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले प्रकाशित गरेको अनुसन्धान लेखका अनुसार ओमिक्रोन संक्रमितहरुमा खोकी, थकान र नाकबाट पानी बग्ने र बन्द हुने जस्ता लक्षण नै मुख्य थिए। नर्वे र अमेरिकी ओमिक्रोन संक्रमितहरु लगभग सबैले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएका थिए।

ओमिक्रोनको प्रादुर्भावसँगै ज्वरो मुख्य लक्षणको रुपमा नदेखिनुमा यो भेरियन्टको जिनमा देखिएको भारी म्युटेशन हो वा खोपको प्रभाव हो भन्ने स्पष्ट छैन। ज्वरो नदेखिए धेरै मानिसहरु सम्भवत: कोरोना परीक्षण गर्ने छैनन्। जसले गर्दा ओमिक्रोन भेरियन्टको यकिन तथ्यांक थाहा पाउन कठिन हुनेछ।

कसरी जोगिने? संक्रमित भइहाले के गर्ने?
अझै पनि धेरै व्यक्तिले खोप लगाउन बाँकी छ। कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएको छ भने गम्भीर लक्षण देखा पर्न सक्छ।

पहिलो त सकेसम्म आफूलाई संक्रमित हुनबाट जोगाउनुपर्छ। त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने हो। अनावश्यक र काम नपरी घरबाट बाहिर ननिस्कने, बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ।

संक्रमितको सम्पर्कमा आएको थाहा हुना साथ आफूलाई ‘आइसोलेट’ गर्नुपर्छ। रुघाखोकी र ज्वरो आएको छ भने पनि आइसोलेसनमा बस्नुपर्छ। झोलिलो र स्वस्थ खानेकुरा खानुपर्छ। अक्सिजनको मात्रा याद राख्नुपर्छ। स्वास्थ्यमा जटिलता आए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ।

उपचारको अभावमा ज्यान गुमाउने स्थिति नरहोस् भन्ने सुनिश्चित गर्न अक्सिजनलगायतका आधारभूत आवश्यकताको जोहो गर्न आवस्यक छ। जोखिम समूहमा रहेका सबैले अविलम्ब बुस्टर खोप लगानुपर्छ।

उच्च जोखिममा रहेका वर्गहरुलाई खोपको दायरामा ल्याउन सके यसबाट हुने थप क्षतिलाई पनि न्यूनीकरण गर्न सकिन्छ। भारतबाट आउने संक्रमितको उतारचढावलाई नियाल्नु अति नै महत्वपूर्ण छ। खुला नाका व्यवस्थित गर्न सके संक्रमितको संख्या नियन्त्रण गर्न सघाउ पुग्छ।

अहिले शुक्रराज अस्पतालमा आउने बिरामीहरु सामान्य अवस्थाका छन्। अहिलेको लहरमा दोस्रो लहरमा जस्तो जटिल अवस्था नआउला भन्ने अनुमान छ। भाइरसमा हुने म्युटेसन सधैं खराब नै हुन्छ भन्ने हुँदैन।

तर, संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। यदी, समुदायस्तरमा परीक्षण गर्‍यो भने योभन्दा कयौँ गुणा संक्रमित होला भन्ने मेरो अनुमान छ। त्यसैले सबै जना सचेत हुनु जरुरी छ|

सम्पूर्ण जनहितको लागि A2Z साभार गरिएको |https://nepallive.com/story/270587?fbclid=IwAR3uFGSEjLtxAJ0q9NA8OjZ7sP4o0sSQdJto-XQdL_5mHxpPo3qdyN2yB8A

Leave a Reply

Your email address will not be published. Required fields are marked *