Home > Uncategorized > दक्षिण एसियाका ५ मुलुक सहित हालसम्म विश्व भर ५७ मुलुकमा ओमिक्रोन

दक्षिण एसियाका ५ मुलुक सहित हालसम्म विश्व भर ५७ मुलुकमा ओमिक्रोन

मंसिर २३ , काठमाडौं । पाकिस्तानमा पनि नयाँ कोभिड भेरियन्टका संक्रमित फेला परेका छन् । यो सहित दक्षिण एसियाका पाँच मुलुकमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

बिहीबार कराचीकी एक महिलामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको पाकिस्तानका अधिकारीले बताएका हुन् । संक्रमित महिला स्थानीय भएको र विदेश यात्रा गरेको नदेखिएको पनि अधिकारीहरूले बताएका छन् ।

खोप नलगाएकी ६५ वर्षीया महिलामा ओमिक्रोन संक्रमण देखिएको हो ।संक्रमण देखिएपछि ती महिला अस्पताल भर्ना भएको र हाल डिस्चार्ज गरिएकी उनी घरमै आइसोलेशनमा बसेकी छन् ।

पछिल्लो पटक पाकिस्तानमा ओमिक्रोन फेला परेपछि हालसम्म दक्षिण एसियाका पाँच मुलुकमा यो भेरियन्ट फैलिएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै भारतमा छन् । त्यहाँ ओमिक्रोनबाट २० जनाभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । श्रीलंका र माल्दिभ्समा समेत यो भेरियन्ट फैलिइसकेको छ ।

नेपालमा समेत ओमिक्रोनका संक्रमित पुष्टि भइसकेका छन् । दक्षिण अफ्रिकाबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपाली नागरिकमा सोमबार संक्रमण भेटिएको हो ।

डब्ल्यूएचओले ‘ओमिक्रोन’ भेरियन्ट फैलिने क्रम जारी रहेको र अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न सक्ने समेत जनाएको छ । डब्ल्यूएचओले डेल्टा भेरियन्ट जत्तिकै वा सोभन्दा कम गम्भीर हुने देखिएपनि संक्रमितहरु अस्पताल भर्ना हुनेको संख्या बढ्ने अपेक्षा गरेको छ ।

त्यस्तै, केही समय अगाडि मात्रै डब्ल्यूएचओ र अमेरिकाका शीर्ष वैज्ञानिकहरूले ‘ओमिक्रोन’ अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको जानकारी दिइसकेका छन् । साथै ओमिक्रोन भेरियन्ट गम्भीरतालाई न्याय गर्न थप अनुसन्धान आवश्यकता रहेको बैज्ञानिकहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ५७ मुलुकमा ओमिक्रोन फैलिएको छ ।

खबर साभार : अनलाइन न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *